५० करोडको लागतमा ‘एग्रो भेन्चर क्यापिटल’ आउँदै, यस्तो हुन्छ सुविधा

टुरिजमफेस
काठमाडौं । ५० करोड रूपैयाँ लगानीमा ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना हुने भएको छ । विभिन्न स्थानमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग व्यवसायलाई विकास र विस्तार गर्ने उद्देश्यले उक्त क्यापिटल स्थापना हुन लागेको हो । क्यापिटलमा पूर्वगभर्नर, बैंकर, कृषि क्षेत्र विज्ञ, अर्थविद्देखि कृषि क्षेत्रका उद्यमीले सहकार्य गर्र्दैछन् । जसमा पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल, पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की, पूर्वबैंकर तथा बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, पूर्वबैंकर रमेशकुमार भट्टराई, पूर्वबैंकर जनक शर्मा पौडेल लगायतले लगानी गर्न लागेका हुन् । नेपालमा उत्पादित कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग, व्यवसायको विकास र विस्तार गर्ने उद्देश्यले एग्रो भेन्चर क्यापिटल स्थापना गर्न लागिएको बताइएको छ । विदेशमा निकै वर्षअघिदेखि यस्तो खाले क्यापिटल सञ्चालनमा रहे पनि नेपालमा अभ्यास हुन सकेको छैन ।
अहिलेलाई कम्पनीको चुक्ता पूँजी ५० करोड र सञ्चालनको एक वर्षभित्र १ अर्ब रूपैयाँ बनाउने प्रस्ताव गरिएको छ । प्रस्तावित कम्पनीमा संस्थापकका लागि ८५ प्रतिशत र सर्वसाधारणका लागि १५ प्रतिशत सेयर छुट्याउने तयारी गरिएको छ । नेपालमा विदेशी र स्वदेशी लगानीका भेन्चर क्यापिटल सञ्चालन भए पनि कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग–व्यवसाय स्थापना, सञ्चालन र प्रवद्र्धनमा सहयोग गर्ने छुट्टै भेन्चर छैन ।