क्रिकेटर सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दाको फाइल महान्यायाधिवक्ता कार्यालय पुग्यो
टुरिजमफेस
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी मुद्दाको फाइल महान्यायाधिवक्ता कार्यालयमा पुगेको छ । उच्च सरकारी वकिलको कार्यालयले मुद्दा चलाउनुपर्ने रायसहित महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको हो । पीडित गौशाला २६(छ) ले आफू न्यायका लागि लड्दा सामाजिक रूपमै आक्रमणको सामना गर्नुपरेको र आफूमाथि डर, त्रास देखाउँदै हत्यासम्मका धम्की आउने गरेको भन्दै मुद्दा नचलाउन निवेदन दिएकी थिइन् । अब मुद्दा चलाउने वा नचलाउने अन्तिम निर्णय भने महान्यायाधिवक्ता कार्यालयले नै गर्नेछ । पीडित गौशाला २६ को जाहेरीमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना हुने फैसला गरेको थियो । गत पुस २५ मा भएको उक्त फैसलामा पीडितलाई थप दुई लाख क्षतिपूर्ति हुने भनिएको थियो । तर, पुनरावेदनपछि सन्दीपलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्दै उच्चले सफाइ दिएपछि उच्च सरकारी वकिल कार्यालय पाटनले पुनरावेदन गर्ने राय लेखेर फाइल महान्यायाधिवक्ता कार्यालय पठाएको हो ।
