चिनियाँ जहाज निगमलाई ‘निल्नु न ओकल्नु’

टुरिजमफेस
काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ ऋण सहयोगमा ल्याएका एमए ६० र वाई १२ नामका पाँच जहाज वर्षौंदेखि प्रयोगविहीन छन् ।
निगमले चिनियाँ जहाज उडाउँदा आर्थिक वर्ष २०७१÷०७२ देखि २०७५÷२०७६ सम्म नै करिब २ अर्ब रूपैयाँ घाटा व्यहोरेको छ । त्यस अवधिमा ती चिनियाँ जहाज सञ्चालन गर्दा र जहाज उडानसहितबाट भएको कुल घाटा जोडेर त्यति रकम पुगेको हो ।
निगमले ५८ सिट क्षमताको २ वटा एमए ६० र १८ सिट क्षमताको ३ वटा वाई १२ जहाज बिक्रीका लागि प्रस्ताव मागेको थियो । निगमले २०७१ देखि २०७४ सम्ममा भित्र्याएका यी जहाजमध्ये २ वटा (एउटा एमए ६० र एउटा वाई १२) जहाज अनुदानमा पाएको हो । बाँकी ४ वटा (१ वटा एमए ६० र ३ वटा) वाई १२ जहाज सहुलियत ऋणमा चीनबाट खरिद गरिएको थियो ।
यी जहाज खरिद गर्दा ३ अर्ब चीनबाटै ऋण लिइएको थियो । चिनियाँ जहाजको उडान तथा सञ्चालन खर्च धान्न नसक्ने भएपछि निगमले २०७७ साउन १५ देखि सञ्चालनमा नल्याउने निर्णय गरेको थियो ।
ती जहाज सञ्चालन गर्न प्राविधिक, व्यवसायिक र आर्थिक रूपमा अनुपयुक्त भएको, बिमा खर्च तथा इन्धन खपत अत्याधिक रहेको, सीमित यात्रुवहन क्षमता र जगेडा पाटपुर्जामा समस्या रहेको सहितका कारण थन्काउनु परेको निगमको भनाइ छ ।