सन नेपाल लाइफका दुई नयाँ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता

टुरिजमफेस
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातौं वार्षिकोत्सवको अवसरमा दुई नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘सुनौलो बाल समृद्ध’ र ‘सनलाइफ मेडिकेयर’ जीवन बीमा योजना सार्वजनिक गरेको हो । सुनौलो बाल समृद्ध जीवन बीमा योजनाअन्तर्गत प्रस्तावकको निधनमा भुक्तानी निश्चित गरिएको छ ।
बीमा अवधिभित्र प्रस्तावकको निधन भएमा कम्पनीले बीमांक रकम भुक्तानी गर्नेछ भने बीमितलाई बीमा अवधिसम्म बीमांक रकमको दुई प्रतिशतसम्म मासिक आय सुविधा रकम प्रदान गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । सोही योजनामा प्रस्तावकको घातक रोगको उपचारमा ५० लाख (पचास लाख) रूपैयाँसम्म खर्च बीमा कम्पनीले नै बेहोर्ने विशेषता समेत रहेको छ ।
त्यस्तै पहिलोपटक सुरु गरिएको सनलाइफ मेडिकेयर बीमा योजनाअन्तर्गत बीमितले अस्पताल भर्ना भएर उपचार गर्दा १ लाख रूपैयाँसम्म कम्पनीले प्रदान गर्ने व्यवस्था रहेको छ । यो योजनाबाट आम नेपाली नागरिकले लाभ लिनसक्ने कम्पनीको अपेक्षा छ । वार्षिकोत्सवको अवसरमा सन्देशमूलक भिडियो पनि सार्वजनिक गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत तयार पारिएको म्युजिक भिडियोमा वैदेशिक रोजगारीसँग सम्बन्धित उपयोगी सन्देश रहेका छन् ।
सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीले ७ वर्ष ७ प्रदेश ७ दिन ७ सतकर्म नाराअन्तर्गत सप्ताहव्यापी कार्यक्रम पनि गरेको छ । सात सत्कर्मअन्तर्गत प्रभातफेरि, वृक्षारोपण, खाद्यान्न तथा लत्ताकपडा वितरण, मठ–मन्दिर सरसफाइ, रक्तदान, वित्तीय साक्षरतासम्बन्धी कार्याशाला तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
त्यस अवसरमा देशभरका विभिन्न स्थानमा नेपाली संस्कृतिसँग जोडिएका बर, पिपल, रुद्राक्ष, रक्तचन्दन, अगरउड, श्रीखण्ड र स्वामी गरी ७ थरी वनस्पतिको वृक्षारोपण गरिएको छ । त्यस्तै महिला तथा बालबालिकालाई लक्ष्य गरी शैक्षिक सामग्री र खाद्यान्न वितरण गरिएको छ । ‘समुदाय सँगसँगै कदम उठाउँदै’ नाराका साथ मन्दिर सरसफाइ र रक्तदान कार्यक्रमको पनि आयोजना गरियो ।