भैरहवाबाट अन्तर्राष्ट्रिय उडानपछि भाडा घट्यो कि घटेन ?

टुरिजमफेस
काठमाडौं । निर्माण कार्य सम्पन्न भएको लामो समयपछि अन्तर्राष्ट्रिय हवाई उडान सुरु भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुन थालेसँगै हवाई भाडा कति घट्छ वा बढ्छ भन्ने चासो बढेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशका गन्तव्यमा जाँदा हवाई भाडा एउटै हुन्छ वा फरक फरक ? भैरहवामा आउने र त्यहीबाट फर्कने अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई उडानको दुरी कम पर्ने भएकाले भाडा पनि कम हुनुपर्छ भन्ने अनुमान गरिएको छ । तर, यात्रुले भने काठमाडौं र भैरहवाबाट एउटै गन्तव्यमा जान एउटै भाडा रहेको गुनासो गरेका छन् ।
भैरहवामा उडान सुरु भएकै बेला ट्राभल एन्ड टुर अपरेटर्सहरूले भैरहवाबाट उडान हुने अन्तर्राष्ट्रिय उडानमा नोभेम्बर महिनाभरि टिकट सकिएको बताउन थालेका छन् । यसले गर्दा अझै पनि एउटा गिरोह भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोक्ने पक्षमा लागेको देखिन्छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेल अहिले नै भैरहवामा पर्याप्त यात्रु नभएकाले भाडा दर नघाइएको बताउँछन् । अन्य हवाई कम्पनीका प्रतिनिधिहरूको भनाइ पनि पौडेलको जस्तै छ । नागरिक उड्डयन प्राधिकरणले गएको शुक्रवारदेखि लागू हुने गरी भैरहवामा विभिन्न वायुसेवा कम्पनीले सातामा १७ उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।
तालिका अनुसार आइतवार फ्लाइ दुबई र नेपाल एयरलाइन्स, सोमवार थाई एयर एसिया, फ्लाइ दुबई र नेपाल एयरलाइन्स, मंगलवार नेपाल एयरलाइन्स, जजिरा र फ्लाइ दुबई, बुधवार फ्लाइ दुबई र नेपाल एयरलाइन्स, बिहीवार जजिरा, थाई एयर एसिया र फ्लाइ दुबई, शुक्रवार फ्लाइ दुबई र नेपाल एयरलाइन्स तथा शनिवार जजिरा र फ्लाइ दुबईले उडान भर्नेछन् ।