वेदान्त–विज्ञानबिचको संवादमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

bedant and science
टुरिजमफेस
काठमाडौं । जीवनको उत्पत्ति र विकासक्रममा वेदान्त र विज्ञानबिच संवाद विषयक प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाल, भारत र अमेरिकाका आध्यात्मिक चिन्तक र विभिन्न विश्वविद्यालका प्राध्यापकहरूद्वारा कार्यपत्र प्रस्तुत गरी सम्मेलन सम्पन्न भएको हो ।
आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्री चैतन्य सारस्वत सभा नेपाल, श्री चैतन्य सारस्वत संस्था पश्चिम बंगाल भारत र सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको आयोजना तथा अक्षरा स्कुलको सहआयोजनामा काँडाघारीस्थित अक्षरा स्कुलमा सो सम्मेलन सम्पन्न भएको थियो । कागेश्वरी मनोहरा नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सुरु भएको सम्मेलनमा नेपाल, भारत र अमेरिकाबाट गरी करिब ४ सय ५० जनाको सहभागिता रहेको सहआयोजक संस्था अक्षरा स्कुलले जनाएको छ । उद्घाटन सत्रमा प्रमुख अतिथि कार्कीले संवादका माध्यमबाट अध्यात्म र विज्ञानको क्षेत्रमा मात्र नभई जीवनको अस्तित्व र ब्रह्माण्डको गहिरो अर्थबारे नयाँ अवधारणा प्रदान गर्ने बताए ।
सहआयोजक संस्था अक्षरा स्कुलकी कार्यकारी निर्देशक अन्जु भट्टराईले नयाँ पुस्तामा सनातन परम्परा एवं संस्कृतिको उचित हस्तान्तरण नहुँदा पूर्वीय संस्कार र सभ्यता कमजोर बन्दै गएको भन्दै नयाँ पुस्तामा आफूभित्रको ब्रह्मको पहिचान गराएर अगाडि बढ्न प्रेरणा दिने उद्देश्यले सम्मेलन आयोजना गरेको बताइन् ।
भारत पश्चिम बंगालस्थित चैतन्य सारस्वत मठका आचार्य डा. भक्ति निष्काम सन्त महाराजले जैविक र रासायनिक प्रक्रियामा आत्मतत्त्व सम्मिश्रणबाट जीवनको उत्पत्ति र विकास भएको प्रष्ट पारेका थिए । जीवनको उत्पत्ति र विकासक्रमको बुझाइमा वेदान्तको योगदान, जीवनको उत्पत्ति र विकासक्रमको सिद्धान्तमा फरक धारणाहरू, एक्काइसौं शताब्दीमा जैविक अध्ययनको अवधारणात्मक अनुभूति, एक कोषीय जीवको उन्नत चेतना र अनुभूति, जैविक र अजैविक प्रणालीको गहिरो अवधारणात्मक बुझाई विषयमा त्रिविका प्राध्यापक डा. रजनी मल्ल, प्राध्यापक डा. मोहन खरेल, चैतन्य सारस्वत संस्थाका डा. भक्ति विज्ञान मुनि महाराज, भारतका विभिन्न विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक डा. एमबी जगन्नाधम, डा. मोहन राव, प्राध्यापक डा. कुमार भान्का, डा. सुमंगलादेवी दासी, कृष्णकेशव दास, डा. रमेशबाबु गोगालगायत प्रस्तोताले कार्यपत्र प्रस्तुत गरेका थिए ।
संयुक्त राज्य अमेरिका प्रिन्सटनस्थित भक्ति वेदान्त इन्स्टिच्युटका निर्देशक डा. श्रील भक्ति माधव पुरी माहाराजले अनलाइनमार्फत सम्मेलनलाई सम्बोधन गरेका थिए । वेदान्तले चेतनालाई सुक्ष्म र भौतिक शरीरलाई स्थुल रूपमा स्वीकारेको छ भने विज्ञानले पनि जीवलगायत पदार्थमा निहित विशेष गुणलाई सूक्ष्म र पदार्थलाई स्थूल मानेकाले विज्ञान र वेदान्तबिच कुनै फरक धारणा नरहेको समेत केही वक्ताहरूको भनाइ थियो ।
दोस्रो दिनको कार्यक्रममा प्राध्यापक प्रमोदकुमार वर्मा (उपकुलपति महर्षि वैदिक विश्वविद्यालय, जवलपुर भारत), पूर्वसांसद शंकरप्रसाद पाण्डे, संहिताशास्त्री अर्जुनप्रसाद बास्तोला, प्रसिद्ध न्युरोलजिस्ट डा. जयप्रकाश अग्रवाल, स्वामी चैतन्यकृष्ण, डा. गोपीचन्द्र काफ्ले, डा. चित्रबहादुर बानियाँ, डा. रामप्रसाद अर्याल, डा. निर्मलमणि अधिकारी, डा. गोविन्दशरण उपाध्याय, प्राज्ञ भरत गिरी, डा. उत्तम गिरी, डा. दीपेन्द्र पराजुली, डा. बिन्दु पौडेल, नारायणप्रसाद बराल, प्रकाश तिवारी, पदमप्रसाद पाण्डे, डा. अच्युत तिवारी, स्वामी राममणि दास, प्राध्यापक अजयप्रताप सिंहलगायतको प्रस्तुति रहेको आयोजकले जनाएको छ ।
संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले वेदका ऋचा पाठ गर्नुको अलावा वेदमा रहेका ज्ञानविज्ञानका तथ्य, सभ्यता र संस्कारका कुराको गहिरो अध्ययन हुनुपर्ने बताए । प्रसिद्ध न्युरोलजिस्ट डा. जयप्रकाश अग्रवालले कार्यक्रममा परा र अपरा विद्याबारे प्रकाश पारेका थिए । उनले घरपरिवार, समाज तथा शिक्षालयमा लिइने लौकिक विद्या अपरा र अध्यात्म जागरण र शान्तिका लागि लिइने अलौकिक विद्या परा विद्या रहेको भन्दै यसका लागि वेद र वेदान्तको अध्ययन र अभ्यास रहेको धारणा राखेका थिए ।
स्वामी चैतन्य कृष्णले नेपालको उत्तरवाहिनी गण्डकी नदी, गण्डक क्षेत्र र सो क्षेत्रमा पाइने शालीग्रामको पवित्रताबारे शास्त्रसम्मत प्रमाण पेश गरे । नदीहरूमा गण्डकी र शिलाहरूमा शालीग्राम श्रेष्ठ रहेको भन्दै शालीग्राम भगवान् श्रीकृष्णको साक्षात् स्वरूप वा अवतार रहेको बताए ।
bedant and science