नेपाल स्वास्थ्य व्यवसायी महासंघ अध्यक्षमा कैलाश खड्का निर्वाचित

टुरिजमफेस
काठमाडौं । रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेडिकल स्वास्थ्य परीक्षण गर्ने नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा पुनः कैलाश खड्का निर्वाचित भएका छन् ।
महासंघको १९औं महाधिवेशनले खड्कालाई अध्यक्षमा चयन गरेको हो । यसअघि पनि उनी महासंघको अध्यक्ष थिए । महाधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा महेश श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जिसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरीलाई चयन गरेको छ । महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी निर्वाचित भएका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरूमा प्रवेश रोक्का क्षेत्री, चन्द्रमा राई, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल चयन भएका छन् । महाधिवेशनको उद्घाटन श्रममन्त्री शरतसिंह भण्डारीले गरेका थिए । मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई विभिन्नखाले रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परीक्षणमा ध्यान दिएको बताए ।
नवनिर्वाचित अध्यक्ष खड्काले महासंघमा आवद्ध स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै आइरहेको उल्लेख गर्दै सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुँदै आएको बताए । खड्काले नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्न आफ्ना सदस्य संस्थाहरूले कुनै कमजोरी नगरेको बताए ।