घिसिङको कार्यकक्ष तोडफोडमा खेलसम्बद्ध संघले जनाए आपत्ति

टुरिजमफेस
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको कार्यकक्षमा भएको तोडफोडको घटनाप्रति खेलसम्बद्ध संस्थाहरूले भत्र्सना गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ, नेपाल ओम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका साथै विभिन्न खेलका संघहरूले विज्ञप्ती जारी गर्दै उक्त घटनाको निन्दा गरेका हुन् ।
उच्च अदालत पाटनद्वारा २०८० भदौ १३ गते अवैधानिक ठहर गरेको नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङ र महासचिव लाक्पा छिरिङ लामाको नेतृत्वमा रहेको टोलीले राखेपका सदस्यसचिवको कार्यकक्षमा तोडफोड गरेका थिए ।
खेलकर्मी र करिब ४० खेल संघहरूले विज्ञप्ति जारी उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गरेको छन् । राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीद्वारा हस्ताक्षर भएको विज्ञप्ति जारी गदै दोषीमाथि कारबाहीको माग गरिएको छ ।
असम्बिन्धित व्यक्तिहरूलाई साथमा लिई सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको, अनुशासनहीन, अमर्यादित र अशोभनीय कार्य भएकोले उक्त कार्यप्रति खेलकुद परिषद् कर्मचारी संघले उचित छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै आगामी दिनमा परिषद्को हाताभित्र यस्ता किसिमका कुनै पनि अवाञ्चित क्रियाकलाप भएमा सम्पूर्ण कर्मचारीहरू एकजूट भई अगाडि बढ्ने उल्लेख गरेको छ ।
ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका अध्यक्ष दीपक श्रेष्ठ र इस्पोट्र्स एसोसिएसन अफ नेपाल (इसान) का महासचिव पवन कार्कीले शनिबार विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति निन्दा गर्दै त्यो घटनामा संलग्न व्यक्तिहरूमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । ओलम्पियन संघ र खेलाडीले यस्ता गतिविधिले नेपाली खेलकुदलाई नै बदनाम गराएको उल्लेख गर्दै कारबाही गर्न माग गरेका छन् ।