शिवपुरी हाइकिङ जाने सोच्दै हुनुहुन्छ ? ख्याल गर्नुस् अपलत्र पर्न सकिन्छ

टुरिजमफेस
काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्ज काठमाडौं नजिकैको हाइकिङ जाने ठाउँ हो । प्राकृतिक सुन्दरता भएकाले यहाँ धेरै आउने पनि गर्छन् । खासगरी बिदामा दिनमा सर्वसाधारणको चहलपहल बाक्लो हुन्छ ।
तपाईलाई पनि हाइकिङ मन पर्छ भने शिवपुरी राष्ट्रिय निकुञ्ज उपयुक्त गन्तव्य हुन सक्छ । तर ख्याल गर्नुस् है शिवपुरीमा जानेहरू हाइकिङ गर्दा हराउन वा अलपत्र पनि पर्न सक्छन् । आइतवार शिवपुरी हाइकिङमा गएका १० जना अलपत्र पर्दा उद्धारका लागि सेना र प्रहरी नै प्रयोग गर्नु प¥यो । प्रहरी प्रभाव बुढानीलकण्ठ, नेपाली सेनाको भवानी दल गण शिवपुरी र जिल्ला वन कार्यालयबाट खटिएको उद्धार टोलीले हराएका १० जनाको उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।
बोहोराका अनुसार भक्तपुरको सुर्यविनायक–६ का १७ वर्षीय दर्शन सुवाल, दार्चुला घर भई भक्तपुरको लोकन्थली बस्ने १६ वर्षीय अभि धामी, कास्की घर भई सानो भ¥याङ बस्ने १८ वर्षीय विवेक श्रेष्ठ, बाँके घर भई बबरमहल बस्ने १७ वर्षीय विपिन आचार्य र मोरङ घर भई पेप्सीकोला बस्ने १७ वर्षीय विवश बुढाथोकीको उद्धार गरिएको हो ।
यस्तै भक्तपुर ठिमी बस्ने १७ वर्षीय दीपविजय खनाल, तारकेश्वर बस्ने १७ वर्षीय चिन्तन तिवारी, सामाखुसी बस्ने १७ वर्षीय गौरव पराजुली , कीर्तिपुर बस्ने १७ वर्षीय भरत ओली र ललितपुर बस्ने १७ वर्षीय चिरात भट्टको पनि सकुशल उद्धार गरिएको एसपी बोहोराले बताए । उनीहरू हाइकिङ गर्दा बीचमै अलपत्र परेका थिए । परिवारको सम्पर्कमा नभएपछि परिवारले सुरक्षाकर्मीलाई खबर गरेका थिए । उद्धार गरिएका सबैलाई आफन्तको जिम्मा लगाइएको बोहोराले बताए । त्यसैले जुनसुकै ठाउँमा घुम्न जानुअघि त्यो ठाउँको बारेमा पर्याप्त जानकारी लिने तथा कुनै खतरा भए÷नभएको यकिन गर्नुपर्छ । सानो लापरवाहीका कारण ठूलो दुर्घटना हुन सक्छ ।