एम्सको बोर्ड बैठक जेठ २१ र २२ गते नेपालमा

टुरिजमफेस
काठमाडौं । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स) को बोर्ड बैठक आउँदो जेठ २१ र २२ नेपालमा हुने भएको छ ।
नेपालका लागि एम्सका दुत टीएस ठकुरीले कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो भएको बताए । ‘निरन्तर लबिङपश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको हो,’ नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए । एम्सको बोर्ड बैठक नेपालमा बस्नु समग्र देशको पर्यटनका लागि खुशीको खबर हो ।
एम्सले संसारभर वल्र्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरुको नियमन तथा प्रवद्र्धन गर्दछ । एम्सको सन्जाल एक सय बीस देशमा छ । करिब ४ सय ५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ ।
एम्सको बोर्ड मिटिङका लागि आतिथ्यता गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन् । स्पेन निवासी बोराओ विश्वकै राम्रो र उत्कृष्ट कोर्ष मानिने भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्सको बोर्ड बैठकमा करिब डेढ दर्जन राष्ट्रको प्रतिनिधित्व हुने गरी सहभागिता रहनेछ । नेपालगन्ज म्याराथनले सोही अवसरमा आयोजना गर्ने अन्य बिशेष कार्यक्रममा कुल दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहने अपेक्षा छ । एम्सको बोर्डमा युरोप, अमेरिका, जापान, थाइल्याण्ड लगायत दर्जन राष्ट्रको प्रतिनिधित्व रहेको छ ।