खुम्बु आइसफलमा डोरी टाँगियो

टुरिजमफेस
काठमाडौं । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम सकिएको छ । खुम्बु आइसफल रुटमा यस वर्षको वसन्तकालीन सिजनका लागि सफलतापूर्वक फिक्सिङ गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।
समितिका अध्यक्ष लामा काजी शेर्पाले आइसफल डाक्टरको टोलीले फिक्सिङको काम सकाएको बताए । हरेक वर्ष एसपीसीसीले ५ हजार २ सय मिटरको पहिलो शिविरदेखि ६ हजार ४ सय मिटरको दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गर्ने गर्छ । त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक संघले गर्छ । यसवर्ष टेन्डरमार्फत एटके एक्सपिडिसनले गरेको हो ।
वसन्त ऋतु हिमाल आरोहणका लागि सबैभन्दा अनुकूल मानिन्छ । टोलीमा आधार शिविर व्यवस्थापक छिरिङतेन्जिङ शेर्पासहित ८ जना अनुभवी ‘आइसफल डाक्टर’ छन् । आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले नेतृत्व गरेका छन् भने उनीहरूलाई दाबानुरु शेर्पा, निमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दाबाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पाले सघाइरहेका छन् । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले एसपीसीसीलाई खुम्बु आइसफल मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ ।
हिमाल आरोहण मार्ग बनाउन अत्यन्त जोखिमपूर्ण मानिन्छ । खुम्बु आइसफल क्षेत्र सबैभन्दा खतरनाक भागहरूमध्ये एक हो, जहाँ हिउँको विशाल ढिस्को, भ्वाङ, अनि हिमपहिरोको खतरा रहन्छ । टोलीले सगरमाथाको दोस्रो आधार शिविरसम्म जाने बाटो निर्माण गर्नुपर्ने हुन्छ, जसका लागि डोरी टाँग्ने, जोखिमपूर्ण स्थानमा भ¥याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ ।
पर्यटन विभागका अनुसार फागुन १७ देखि चैत २६ गतेसम्म सगरमाथा आरोहणका लागि नेपालसहित ३० देशका १ सय ३४ जनाले अनुमति लिएका छन् । जसमा २७ महिला छन् । सगरमाथा आरोहणका लागि अमेरिकाका ४२, चीनका १९, भारतका १७, अस्ट्रेलियाका ६, क्यानडा तथा ब्राजिलका ५÷५ जना छन् ।