नयाँ वर्षले चम्कायो नगरकोट, धुलिखेल, बन्दीपुर, सुकेटे, चितवन, पोखरा, लुम्बिनी र नेपालगन्जका होटल

टुरिजमफेस
काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ ले नगरकोट, चितवन, पोखरा, बुटवल र नेपालगन्जका होटल भरिभराउ बनाएको छ । पर्यटकीय स्थल पोखरामा पर्यटकको चहलपहल राम्रो रहेको त्यस क्षेत्रका व्यवसायीहरूको भनाइ छ । अहिले पोखरासम्म पुग्ने बाटो विगतको तुलनामा सुधार भएको हुँदा पर्यटकको आगमनमा राम्रो वृद्धि भएको उनीहरू बताउँछन् ।
नयाँ वर्षमा पोखराका होटलको अकुपेन्सी ८० प्रतिशतसम्म रहेको होटल संघ पोखराका निर्वतमान अध्यक्ष विकल तुलाचनले बताए । नेपाल पर्यटन बोर्डको सहकार्यमा संघले ‘जाऊँ है पोखरा’ अभियानसहित विभिन्न प्याकेजहरू ल्याएको छ । संघले ‘घुमघाम पोखरा’, ‘शैक्षिक भ्रमण पोखरा’ र ‘मधुमास पोखरा’जस्ता प्याकेजहरू पनि घोषणा गरेको तुलाचनले बताए ।
चितवनको सौराहामा पनि नयाँ वर्षमा पर्यटकको चहलपहल बढ्यो । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष गंगा गिरीले नयाँ वर्षमा राम्रो संख्यामा पर्यटक आएको बताए । उनले होटलको अकुपेन्सी ९० प्रतिशतसम्म पुगेको बताए । त्यस्तै बुटवलका होटलमा पनि निकै पर्यटकको सुधार आएको छ । गिरीले रक्सोल क्षेत्रबाट आउने भारतीय पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको बताए । उनका अनुसार चिनियाँ र आन्तरिक पर्यटकको आगमन राम्रो भएकोले होटल भरिभराउ भएका हुन् । होटल संघ सौराहाले नयाँ वर्षमा विशेष छुटमा कोठा दिएको छ । होटलहरूले न्यूनतम ५५ सय पर्ने कोठालाई ४५ सयमा दिन थालेको छ ।
नेपालगन्जमा नयाँ वर्षमा पर्यटकको चलहपहल बढेपनि बर्दियामा भने पर्यटकको संख्यामा खासै नबढेको व्यवसायीले गुनासो गरे । क्षेत्रीय होटल संघ बर्दियाका अध्यक्ष मोहन चौधरीले नेपालगन्ज, काठमाडौं, चितवन, पोखराजस्ता ठाउँबाट पर्यटक आउनको लागि गाडीको यात्रा निकै कठिनाइ भएकोले नयाँ वर्षलाई भनेर बाह्य पर्यटक कम आएको बताए ।
बर्दियाले यो वर्ष ‘भिजिट बर्दिया’ घोषणा गरेको छ । यसले पनि पर्यटक संख्या वृद्धिमा प्रभाव पार्न नसकेको अध्यक्ष चौधरीको भनाइ छ ।