चन्द्रप्रकाश खेतानः बियर कम्पनी बेचे, होटल किने

टुरिजमफेस
काठमाडौं । नेपाली मुलका व्यवसायी चन्द्रप्रकाश खेतानले बियर कम्पनी बेचेर सिंगापुरमा करिब साढे आठ अर्ब रूपैयाँमा होटल किनेका छन् । केही समयअघि झण्डै एक खर्ब रुपैयाँमा नेपाल र भारतको काल्सबर्ग बियरको स्वामित्व बेचेका खेतानले सिंगापुरको चर्चित बुटिक होटल खरिद गरेका हुन् ।
काल्र्सबर्गबाट बाहिरिएपछि उनले सिंगापुरलाई आधार बनाएर विभिन्न खाले व्यवसाय गरिरहेका छन् । सिंगापुरका सञ्चार माध्यमहरूका अनुसार खेतानले ८० मिलियन सिंगापुर डलर (झण्डै ८ अर्ब ४४ करोड नेपाली रूपैयाँ) मा ‘डक्सटन रिजर्व होटल’ खरिद गरेका हुन् । यद्यपि यसबारे खेतान समूहले भने कुनै जानकारी सार्वजनिक गरेको छैन । तर खेतान नजिकका व्यक्तिहरूले भने होटल खरिदसँगै अन्य योजना बनाउने क्रम जारी रहेको जनाएका छन् । ४९ कोठा रहेको बुटिक होटल खेतानको लोटस वान इन्भेष्टमेन्ट कम्पनीले खरिद गरेको हो । यो होटल म्यारियट ग्रुप अन्तर्गतको अटोग्राफ कलेक्सन ब्राण्डको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ ।
खेतानले सतिन्द्र गर्चाबाटे होटल खरिद गरेका हुन् । गर्चाले सन् २०१३ मा यो होटल ५० मिलियन सिंगापुर डलरमा खरिद गरी सञ्चालन गरेका थिए । चन्द्रप्रकाश नेपालका अग्रणी उद्यमी मोहनगोपाल खेतानका कान्छा छोरा हुन् । उनी करिब एक दशकदेखि स सिंगापुरमा बसेर व्यवसाय गरिरहेका छन् ।