विमानस्थल बन्छन्, चल्दैनन्, यसमै सकिरहेको छ अर्बौं

फाइल तस्बिर ।
टुरिजमफेस
काठमाडौं । सरकारले हरेक वर्षजसो विमानस्थल निर्माणका नाममा रकम विनियोजन गरिरहेको छ । तर त्यस्तो रकम खर्च गरी बनाइएका विमानस्थल प्रयोग भन्दा बढी बन्जर बनिरहेका छन् । नेता र मन्त्रीका स्वार्थले बन्ने यस्ता विमानस्थल योजनाबिनै बन्दा प्रयोगमा आउनु त कता हो उल्टै जनताको कर दोहन मात्र भइरहेको छ ।
नेपालमा तीन अन्तर्राष्ट्रिय र ५२ आन्तरिक विमानस्थल निर्माण भएका छन् । जसमध्ये २० वटा पूर्ण रूपमा बन्द छन् । सञ्चालनमा रहेका ३५ मध्ये पनि दुर्गमस्थानका दर्जनभन्दा बढी विमानस्थल कहिलेकाही मात्र प्रयोग हुने गर्छन् । यस्तो हुँदा पनि अझै कतिपय नेता, मन्त्री विमानस्थलको आवश्यकता रहेको दावी गर्न छोड्दैनन् । ‘देशमा प्रशस्त आयस्रोत भएको भए तथा जनताको जीवनस्तर राम्रो हुँदा हरेक जिल्ला त के हरेक निर्वाचन क्षेत्रमा विमानस्थल बनाए पनि हुन्छ,’ अर्थशास्त्री विज्ञान सापकोटो भन्छन्, ‘जनता बेरोजगारी र गरिबीको मारमा छन्, नेतालाई विमानस्थल बनाउने हुटहुटी चल्नु अल्पज्ञानको उत्कृष्ट उदाहरण हो ।’
देशभरका विमानस्थल निर्माणमा कति रकम खर्च भयो भन्नेबारे यकिन विवरण भेट्न सकिँदैन । विज्ञहरू भने एउटा विमानस्थल निर्माणमा कम्तीमा ५ करोड रूपैयाँदेखि ५० करोड रूपैयाँसम्म खर्च हुने बताउँछन् । तराई क्षेत्रमा अथवा कालोपत्रे गरिएको छैन भने त्यस्ता विमानस्थल निर्माण गर्न थोरै खर्च भएको हुन्छ । तर हिमाली वा पहाडी क्षेत्रमा भने लागत बढी हुन्छ ।
अहिले कालोपत्रे गरेकै थुप्रै विमानस्थल बन्द छन् । नेपालमा जथाभावी विमानस्थल बन्नुमा एकातिर सस्तो लोकप्रियता खोजिनु र अर्कोतर्फ निर्माणको नाममा अनियमितता गर्नु मुख्य कारण रहेको विज्ञहरूको भनाइ रहँदै आएको छ ।
फाइल तस्बिर ।