लेखा समितिको अख्तियारलाई निर्देशन–पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको अनुसन्धान र कारबाही गर्नू
टुरिजमफेस
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
समितिको बुधबारको बैठकले विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारबारे अनुसन्धान गर्न अख्तियारलाई लेखेर पठाउने निर्णय पनि गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
समितिले सोही विमानस्थल निर्माणको क्रममा भएको अनियमितता अध्ययन गर्न सांसद राजेन्द्र लिङ्देनको नेतृत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले विमानस्थल निर्माण गर्दा कम्तीमा १० अर्ब रूपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अन्तिम प्रतिवेदन समितिलाई बुझाएको थियो ।
उपसमितिले सार्वजनिक खरिद ऐनविपरीत करिब साढे ६ अर्ब लागत वृद्धि, कर छुटबापत २ अर्ब २२ करोड फिर्ता, छिनेडाँडा कटानमा थप ३२ करोड भुक्तानलगायतमा भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको छ ।
विमानस्थल निर्माणअघि नै लागतको मूल्यवृद्धि गरेर ठेक्का प्रक्रिया टुंग्याइएको समेत उपसमितिको निष्कर्ष छ । नागरिक उड्डयन प्राधिकरणले १४५ मिलियन अमेरिकी डलर (सन् २०१४ को विनिमय दरअनुसार १३ अर्ब ५९ करोड रुपैयाँ) लागत अनुमान गरे पनि त्यसमा ७० मिलियन डलर (६ अर्ब ५६ करोड) लागत वृद्धि गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङलाई ठेक्का दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । विमानस्थल निर्माणमा अनियमितताको आरोप लागेकाहरू अधिकांश उच्च तहका कर्मचारी छन् ।