७ ओटा बाघ भेटिएपछि दाङमा पर्यटक बढ्ने अपेक्षा

tiger
टुरिजमफेस
दाङ । दाङका विभिन्न वन क्षेत्रमा सात ओटा वयस्क बाघ फेला परेका छन् । जसले गर्दा यहाँका पर्यटन व्यवसायी उत्साही हुँदै पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छन् ।
डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखिएका थिए ।
एउटा भाले, दुइटा पोथी र चार ओटा लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए ।
विभिन्न २३ स्थानमा जडान गरिएका क्यामरामा बाघको तस्विर कैद गरिएका हुन् । सर्वेक्षण गत वर्ष मंसिर २४ देखि माघ ४ गतेसम्म गरिएको थियो ।
चालीस दिनसम्म एक सय नौ ओटा क्यामरा जडान गरी चार सय ३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको वन अधिकृत सुवेदीले जानकारी दिए ।
उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाका चार स्थानीय तह, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिकाका वन क्षेत्र समेटेको थियो ।
सर्वेक्षणमा डिभिजन वन कार्यालयका आठ कर्मचारी, आठ स्थानीय नागरिक तथा १६ अनुसन्धानकर्ता सम्मिलित आठ टोली बनाइएको थियो।
हाल संकलित तथ्यांकको विश्लेषण कार्य जारी छ भने विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने जनाइएको छ । यसअघि दाङमा फाटफुट रूपमा बाघ देखिए पनि संख्या यकिन थिएन । पर्यटन व्यवसायीले स्थानीय सरकारसँग पर्यटकलाई बाघ हेर्न पाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । घोराहीमा होटल व्यवसाय गर्दै आएका नारायण डाँगीले यहाँ आउने पर्यटकले बाघ हेर्न पाउने व्यवस्था मिलाउने हो भने पर्यटकीय गतिविधि बढ्दै जाने र यसले सर्वसाधारणको जीवनस्तरमा सुधार आउने बताए ।