एकै परिवारका ६ जनाले गरे मकालु हिमालको सफल आरोहण

फाइल तस्विर मकालु हिमाल
टुरिजमफेस
काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–२ निवासी एक परिवारका ६ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो मकालु हिमालको सफल आरोहण गरेका हुन् । मकालु हिमालको उचाइ ८ हजार ४ सय ८५ मिटर रहेको छ ।
मकालु–२ का ङिमा ओङ्जुक शेर्पाका चार छोरा, एक छोरी र एक नातिनीले गत वैशाख २६ मा मकालु हिमाल आरोहण गरेको आरोही दलका सदस्य मुक्टुक लाक्पा शेर्पाले बताए । मकालु हिमालको आरोहण गर्नेमा मुक्कुट, उनका भाइहरू ङिमा दोर्ची, आङडी, पेछुम्वे, बहिनी पासाङ र उनकी २३ वर्षीया छोरी एनिमा शेर्पाले एकसाथ आरोहण गरेका हुन् ।
उनीहरूका अनुसार एउटै बुबाआमाका पाँच छोराछोरीसहित ६ जनाले मकालु आरोहण गरेर विश्व कीर्तिमानी कायम भएको छ । यद्यपि यसबारे सरकारी निकायले अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर एकैसाथ मकालु हिमाल आरोहण गरेको उक्त परिवारलाई मकालु गाउँपालिका, नेपाल पत्रकार महासंघ सङ्खुवासभा र शेर्पा सङ्घले भने सम्मान गरेको छ ।