पत्रकारिता र आमसञ्चारबारे जान्न, बुझ्न खोज्नेका लागि ‘नेपाली मिडियाको इतिहासः छापादेखि डिजिटलसम्म’ पुस्तक सार्वजनिक

पुस्तकको विमोचन गरिँदै
टुरिजमफेस
काठमाडौं । पत्रकारिता तथा आमसञ्चारबारे जान्न, बुझ्न खोज्नेका लागि नयाँ पुस्तक ‘नेपाली मिडियाको इतिहासः छापादेखि डिजिटलसम्म’ सार्वजनिक भएको छ ।
प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको पुस्तकमा नेपाली मिडियाको विगतदेखि वर्तमानसम्मका सबै आयामका विषय समेटेर गहिरो अध्ययन, अनुसन्धान गरिएका विषयवस्तु छन् । कुन्दन अर्याल, रघु मैनाली, जगत नेपाल, शुभेच्छा विन्दु तुलाधर, उज्ज्वल आचार्य, भुवन केसी, रुद्र खड्का र तीर्थ कोइराला गरी ८ जना लेखकले मिडियामा फरक विधामा लेखेका सामग्री पुस्तकमा छन् ।
छापाअन्तर्गत ‘हिजोको पर्चा, आजको ब्रोडसिट, रेडियोअन्तर्गत ‘रोमाञ्चकतादेखि रुपान्तरणसम्म’, टेलिभिजनअन्तर्गत ‘श्रव्य–दृश्य पत्रकारितामा छलाङ’, अनलाइनअन्तगर्गत ‘डिजिटल युगका समाचार, समाजिक सञ्जालअन्तर्गत ‘सोसल मिडिया र पत्रकारिता, विधागत पत्रकारिताअन्तर्गत ‘विकास, अभ्यास र भविष्य तथा आचारसंहिताअन्तर्गत पत्रकारितामा नैतिकताको मार्गचित्र शीर्षकमा सामग्री पुस्तकमा समेटिएका छन् ।
पुस्तकमा नेपाली मिडियाले खेलेका महत्वपूर्ण पक्ष पनि केलाइएको छ । पुस्तकको समीक्षा गर्दै वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले यस पुस्तकको अध्ययनले नेपाली पत्रकारिताको विकास छर्लङ्ग हुने र यो जो कोहीका लागि निकै उपयोगी भएको बताए ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पहिले प्रकाशित भएका मिडियासम्बन्धी धेरै सामग्री अनुसन्धानात्मक चरित्र बोकेका नभएको हुँदा यसपटक अनुसन्धानसहित पत्रकारिताका सबै विधालाई समेटेर पुस्तक ल्याइएको बताए । पुस्तकको एक कार्यक्रमबिच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायतले विमोचन गरे ।
पुस्तकको विमोचन गरिँदै