राजावादी आन्दोलनमा कमल थापा र दीपक सिंह पक्राउ, भोलि उपत्यका बन्दको घोषणा

टुरिजमफेस
काठमाडौं । बालुवाटारबाट पक्राउ परेकाराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई भेट्न जाँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहलाई पनि पक्राउ गरिएपछि आन्दोलनकारीले भोलि उपत्यका बन्दको घोषणा गरेका छन् ।
राजसंस्था र हिन्दु राष्ट्र पुर्नस्थापनाको मागसहित प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष तथा पूर्वगृहमन्त्री थापा लगायत ७ जनालाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेको थियो । त्यसपछि उनीहरुलाई भेट्न भद्रकाली पुग्दा सिंहलाई पनि प्रहरीले हिरासतमा राखिदिएको थियो ।
सांसद सिंह पक्राउ परेसँगै प्रहरी हिरासतमा रहनेको संख्या आठ पुगेको छ । यसअघि कमल थापासँगै ललितपुर जावलाखेलकी ६२ वर्षीया शिला राणा, भक्तपुर थिमिका ३२ वर्षीय रोकश बस्नेत, नुवाकोटको पञ्चकन्या नगरपालिका–१ का ३४ वर्षीय रामचन्द्र लामिछाने, टोखा नगरपालिका–२ का ३३ वर्षीय विनोद कपाली, भक्तपुरको चाँगुनारायणका ३४ वर्षीय सरोज तिमिल्सिना र रौतहटका ४५ वर्षीय डा. राजीव झा पक्राउ परेका थिए । उनीहरूलाई भने प्रहरीले बालुवाटारको निषेधित क्षेत्र तोड्न खोज्दा नारायणचौरबाट पक्राउ गरेको हो ।
राजसंस्था पुर्नस्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । राप्रपाका उच्च तहका नेताहरु नै पक्राउ परेपछि भोलिदेखि काठमाडौं उपत्यकाका ५० औं ठाउँबाट जुलुस निकाल्ने र उपत्यका ठप्प पार्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा गरिसकेका छन् ।
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका छन् । यसले राजावादी आन्दोलन थप चर्किने संकेत गरेको छ ।