हिमालयन ट्राभल मार्टमा पर्यटन प्रवर्द्धनदेखि जैविक विविधतासम्मका विषयवस्तु प्राथमिकतामा

मार्ट उद्घाटनमा प्रस्तुत गरिएको मौलिक सांस्कृतिक कार्यक्रम
टुरिजमफेस
काठमाडौं । ‘पर्यटन अहिलेको लागि मात्र होइन । पर्यटनको लाभ भावी पुस्ताले पनि लिन पाउनुपर्छ’, पर्यटन व्यवसायी कर्ण शाक्यले यसो भनिरहँदा सोल्टी होटलको हलको दर्शक दीर्घामा बसेका अधिकांशको आवाज टक्क रोकियो ।
हो, काठमाडौंमा सुरु भएको पाँचौं संस्करणको हिमालयन ट्राभल मार्टमा पर्यटन क्षेत्रबाट कसरी आर्थिक लाभ लिन सकिन्छ भनेर मात्र छलफल भइरहेको छैन । नेपालको पर्यटनलाई कसरी गुणस्तरीय बनाउने र प्राकृतिक स्रोत र साधनलाई मानिसले मात्र नभई सबै जनावरले पनि उपयोग गर्न पाउनुपर्छ भन्ने जस्ता विषयमा छलफल भइरहेको छ ।
नेपाल पर्यटन बोर्ड, नेपाल एअरलाइन्सलगायतका संस्थाहरूसँगको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले आयोजना गरेको कार्यक्रममा देश, विदेशमा पर्यटन व्यवसायी, संरक्षणकर्मी, वातावरणविद, विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूले नेपालको पर्यटन क्षेत्र, हिमाल तथा अन्य स्रोत, साधनको उपयोग, संरक्षण र भावी योजनाका विषयमा अर्थपूर्ण छलफल गरिरहेका छन् ।
बिहीबारसम्म चल्ने कार्यक्रममा विभिन्न ३० मुलुकका एक सय प्रतिनिधिसहित देशका विभिन्न क्षेत्रका पर्यटन सम्बद्ध व्यक्तिहरूको सहभागिता छ । ‘माउन्टेन, माइलस्टोन एन्ड मोमेन्टम’, ‘प्लानिङ, मार्केटिङ एन्ड एक्जिक्युसन अफ स्परिच्युल टुर्स, दिगो पर्यटन विकासका लागि अन्तर–क्षेत्रीय सहकार्य तथा समन्वयलगायतका विषयमा विज्ञहरूले आ–आफ्ना धारणा राखेका छन् ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाइले नेपाललाई विश्वसामु विविध हिसाबले चिनाउन मार्टको आयोजना गरिएको बताए । केही वर्षयता विश्वभरि नै प्रकृतिमा आधारित पर्यटनको महत्व बढ्दै गएको उल्लेख गर्दै उनले नेपालमा करिब ४५ प्रतिशत वन रहेकाले प्रकृतिमा आधारित पर्यटनबाट राम्रो लाभ लिन सकिने बताए ।
मार्टको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको संस्कृति, पहिचान र स्रोतलाई विश्वव्यापी गर्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको र यसका लागि पाटाको प्रयास प्रशंसनीय भएको बताए । सोही क्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन विकासका लागि पूर्वाधारको पनि उत्तिकै आवश्यक पर्ने बताए । उनले नेपालका गन्तव्यलाई विश्वसामु उजागर गर्दै दिगो पर्यटन विकासका लागि मार्ट उपयोगी हुने बताए ।
सन् २०१७ देखि प्रत्येक वर्षको जुन महिनामा मार्टको आयोजना हुँदै आएको छ । मार्ट नेपालको प्रमुख अन्तरराष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्था, पेसेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर प्रदान गर्ने विश्वास लिइएको छ । पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदयीमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् ।
मार्ट उद्घाटनमा प्रस्तुत गरिएको मौलिक सांस्कृतिक कार्यक्रम