बेलायतमा कञ्चनजंघा आरोहणको स्मरण

टुरिजमफेस
काठमाडौं । संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा कञ्चनजंघा आरोहणको स्मरण गरिएको छ । नेपाल पर्यटन बोर्डले कञ्चनजंघा आरोहणको ७० वर्ष पूरा भएको अवसरमा लन्डनमा आयोजना गरिएको कार्यक्रममा कञ्चनजंघा आरोहीमार्फत आरोहणको स्मरण गरिएको हो ।
लन्डनको रोयल जियोग्राफिकल सोसाइटीको सभाहलमा संयुक्त अधिराज्य बेलायतको पर्वतारोहण टोलीले सन् १९५५ मा पहिलो पटक विश्वको तेस्रो ठूलो हिमाल आरोहण गरेको अवसरमा आयोजित कार्यक्रममा कञ्चनजंघा आरोहण गरेका व्यक्तिहरूको सपना, संघर्ष र अनुभव सुनाएका हुन् ।
जसमा नेपालका प्रसिद्ध पर्वतारोही मिङ्मा डेभिड शेर्पाले आफ्नो शिखर यात्राको कथा सुनाउँदा सभाहल तालीले गुञ्जयमान भएको थियो । उनले विश्व समुदायलाई हिमाली पारिस्थितिक प्रणालीको सम्मान गर्न, जलवायु परिवर्तनले हिमालमा पारिरहेको असरलाई न्युनिकरण गर्ने उपाय अवलम्बन गर्न र दिगो भविष्य निर्माणका लागि एकजुट हुन आग्रहसमेत गरेका छन् ।
कार्यक्रममा पर्यटन प्रवर्द्धनमा प्रमुख भूमिका खेलिरहेका कञ्चनजंघा क्षेत्रको स्थानीय समुदायको योगदानलाई पनि विशेष रूपमा उजागर गरिएको थियो । कार्यक्रममा एडिनबरा ड्युक, राजकुमार एडवर्डको समेत उपस्थिति रहेको थियो । उनको उपस्थितिले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको गहिराइ राज्य तहमा मात्र होइन, जनस्तरसम्म पुग्ने मित्रताको प्रतिकको रूपमा अर्थ्याइएको छ ।
सोही अवसरमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले कञ्चनजंघा एउटा हिमाल मात्र नभएर जीवित सम्पदा भएको उल्लेख गरेका छन् । उनले भने, ‘कञ्चनजंघा हिमाल मात्र होइन, यो एक जीवित सम्पदा हो । जसले समुदायहरूलाई जोड्छ । साहसिक यात्रुहरूलाई प्रेरणा दिन्छ । र, प्रकृति संरक्षणप्रति साझा उत्तरदायित्व सम्झाउँछ ।’ जोशीले यस्ता कार्यक्रमहरूले नेपाल–बेलायत मित्रतालाई अझ सुदृढ बनाउने र दिगो, समावेशी हिमाली पर्यटनको परिकल्पनालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा बेलायतस्थित नेपाली राजदूतावास, पर्यटन बोर्डका प्रतिनिधिहरू साथै बेलायत र नेपालका नेपाली समुदायका सदस्यहरूको सहभागिता थियो ।