होस्टलमा बस्ने १९ सहित एयर इन्डियाको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या २६० पुग्यो

तस्बिर रोयटर्स
टुरिजमफेस
काठमाडौं । बिजे मेडिकल कलेजका इन्टर्न डाक्टरहरू बस्ने होस्टलका १९ सहित एयर इन्डियाको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या २६० पुगेको छ ।
जहाज खसेपछि आगलागी हुँदा उक्त होस्टल पनि जलेर नष्ट भएको छ । हिन्दुस्तान टाइम्सका अनुसार ५० जना भन्दा बढी घाइते भएका छन् । भारतको गुजरात प्रान्तस्थित अहमदाबाद विमानस्थलबाट बेलायतको राजधानी लन्डन जाँदै गर्दा उडेको दुई मिनेटमै जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा एक यात्रु भने जीवित रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी ४० वर्षीय बेलायती नागरिक विश्वासकुमार रमेश रहेको र उनको उपचार भइरहेको बताइएको छ ।
जहाज उडेर उचाइ लिन नसक्दा आवासीय भवनको छतमा खसेको थियो । जहाजमा १५९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक जना क्यानाडेली नागरिक थिए ।
जहाज उत्पादक कम्पनी बोइङले दुर्घटनाबारे जानकारी संकलन गरिरहेको जनाएको छ । कम्पनीले हालसम्म उक्त मोडेलको जहाज दुर्घटनामा नपरेकाले सुरक्षित रहेको दावी गर्दै आएको छ । यद्यपि सञ्चार माध्यमहरूले यसअघि पनि उड्ने क्रममा इन्जिनमा समस्या आएको दावी गरेका छन् ।
तस्बिर रोयटर्स