कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्रको समग्र सुधार कार्यदल

टुरिजमफेस
काठमाडौं । डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको छ ।
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले ६ वटा विषयमा अध्ययन गर्न कार्यदल गठन गरेका हुन् । केही समययता नेपालका बैंकमा अनेक समस्या आएकाले ठोस योजना आवश्यक परेको आवाज उठ्दै आएको छ । कार्यदलमा पूर्वबैंकर भुवन दाहाल र राष्ट्र बैंकका नियमन विभाग प्रमुख गुरु पौडेल सदस्य छन् ।
एक महिनाको समय पाएको कार्यदलले बैंकिङ नीतिनियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास, आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याहरूको पहिचान तथा समाधान, नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका तथा पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकाको बारेमा अध्ययन गर्न तोकिएको छ ।