पर्यटनमा भविष्य : पाल्पामा पहिलोपटक ‘होटल म्यानेजमेन्ट’ विषयको पठनपाठन हुँदै

काठमाडौं । पाल्पाका सामुदायिक विद्यालयमा पहिलोपटक व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषयको पठनपाठन सुरु हुने भएको छ।
रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमूना माध्यमिक विद्यालयले नयाँ विषयका रूपमा होटल म्यानेजमेन्टको पठनपाठन सञ्चालन गर्न लागेको हो।
कालीगण्डकीबेँसीका विद्यार्थीलाई मध्यनजर गर्दै कक्षा ११ र १२ मा व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषय सुरुवात गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए।
‘नयाँ विषयका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छन्। प्रयोगशाला कक्ष तयार पार्न उपकरण व्यवस्थापन गरिरहेका छौँ । प्रयोगशाला व्यवस्थापनमा करिब ३० लाख रकम लाग्ने अनुमान छ, विद्यालयको आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्नेछौं,’ उनले भने।
शैक्षिक क्षेत्रमा नयाँ इँट्टा थप्ने विद्यालयको योजना र यो क्षेत्रमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको माग बढिरहेकाले नयाँ विषय सञ्चालनको तयारीमा विद्यालय लागेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए।
’धेरै खर्चिलो नहुने भएकाले विद्यार्थीले आफ्नै गाउँठाउँमा नयाँ विषय पढ्न पाउनेछन्, उच्च शिक्षा सकेर विद्यार्थी बाहिर जाने भएकाले होटल म्यानेजमेन्ट विषय पढाइमा अन्यत्र लगानी गर्न नपर्ने योजनासहित स्थानीयस्तरमा कक्षा सञ्चालनको तयारी गरेका हौँ । यसले विद्यार्थी र अभिभावकलाई सजिलो हुने अपेक्षा गरेका छौं,’ उनले भने।
यसवर्ष ३० देखि ४० जना विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्ने विद्यालयको लक्ष्य रहेको प्रअ लम्सालले जानकारी दिए। उनले आवश्यक परेमा विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग समन्वय गरेर स्नातक तहसम्मको कक्षा सञ्चालन गर्न सकिने धारणा राखे।
विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा र व्यवस्थापन सङ्कायका साथै तीन वर्षे कृषिबाली विज्ञानको पठनपाठन भइरहेको छ । विद्यालयमा हाल दुई हजार ७०० बढी विद्यार्थी अध्ययनरत छन् ।