म्याग्दीमा रावण पार्क निर्माण अन्तिम चरणमा, पर्यटन प्रवर्द्धनमा जोड

टुरिजमफेस
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका(५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा पुगेको छ ।
परापूर्वकालमा ऋषिमुनिले तपस्या गरेर ज्ञानआर्जन गर्न प्रयोग गर्ने ‘पछै’ जिल्ला सदरमुकाम बेनी बजारबाट उत्तर पश्चिमतर्फको डाँडामा अवस्थित छ । ढलोट धातुको २१ फिट अग्लो रावणको मूर्तिमा १० वटा टाउको, जनै राख्ने र सरसफाइ गर्नेबाहेक सबै काम सकिएको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले करिब ९४ प्रतिशत भौतिक प्रगति भएको रावण पार्क आगामी असोजमा सम्पन्न गर्ने लक्ष्यसहित ठेक्काको म्याद थप गरिएको जानकारी दिए ।
चार रोपनी क्षेत्रफलमा निर्मित पार्कमा घेराबार, प्रवेशद्वार, पदमार्ग निर्माण, स्लेट बिछ्याउने, दुवो रोपेर संरचना तयार गरिएको । ऋषिमुनि मन्दिर, हवन कुण्ड, रावणको नाभि गाडिएको भनिने स्थानलाई यथावत् संरक्षण गरी रावणको मूर्तिसहित बगैँचा, विश्रामस्थल, घेरबार र जमिन संरक्षणलगायत पूर्वाधार निर्माण भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन पूर्वाधार तथा पर्यटनउपज विकास साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रालयको ७० र बेनी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा आर्थिक वर्ष २०७६÷७७ देखि रावणको मूर्तिसहित पार्क निर्माण थालिएको थियो ।
नगरपालिकाले मन्त्रालयमा नियमित प्रतिवेदन बुझाउन नसक्दा आर्थिक वर्ष २०७९र८० र आव २०८०र८१ मा बजेट व्यवस्थापन हुन नसकेपछि निर्माण व्यवसायी पनि पन्छिन खोजेका भन्दै नगरप्रमुख केसीले ४४ महिनासम्म निर्माण रोकिएको उल्लेख गरे ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ फागुनमा धर्म एस कास्यप जेभीले रु एक करोड ७६ लाखमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणले गत फागुनदेखि गति लिएको थियो । लामो समय र धेरै प्रयासपछि बजेट व्यवस्थापन गरेर विसं २०७८ असारदेखि रोकिएको निर्माणलाई नियमित रूपमा फर्काएर अन्तिम चरणमा पुर्याइएको बेनी-५ का वडाध्यक्ष गोविन्द बानियाँले बताए ।
उनका अनुसार हिन्दू धर्मग्रन्थ रामायणका पात्र पुलह, पुलत्य ऋषिको तपोभूमि पछैमा रावण जन्मिएका र उनको नाभि गाडेको ठाउँमा राखिएको शिला अझै सुरक्षित छ । पुलह आश्रम १४ रोपनी क्षेत्रफलमा फैलिएको बताउँदै उनले यहाँ पार्क निर्माण सम्पन्न भएर सञ्चालनमा आएमा पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।
समुद्री सतहबाट दुई हजार मिटर उचाइमा अवस्थित रावण पार्क निर्माण स्थल पछैबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमशृङ्खला, सूर्योदयको मनोरम दृश्यका साथै म्याग्दी र कालीगण्डकी नदी दोभानमा अवस्थित बेनीसहित जिल्लाका अधिकांश भूगोलको दृश्यावलोकन गर्न सकिन्छ ।
यहाँ पुलह, कपिल र जडभरत ऋषिले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ । रामायणको पाँचौँ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ । पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा व्याख्या गरिएको छ ।
बेनी बजारबाट गाडीमा ३० मिनेट यात्रा गरेपछि पछै पुग्न सकिन्छ । बेनी अर्थुङ्गे, बाँसबोट, एकपाटे हुँदै पुरुण्डीसम्मको सडक कालोपत्रे भएको छ । पुरुण्डीबाट करिब दुई किलोमिटर कच्ची सडकको यात्रापछि पछै पुगिन्छ ।