एक अर्ब ५९ करोड पर्यटन बोर्डको बजेटमा एक अर्ब ११ करोड अन्तर्राष्ट्रिय प्रवर्धनमा खर्च, अरु के के छन् नयाँ कार्यक्रम ?

टुरिजमफेस
काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिले चालु आर्थिक वर्षका लागि एक अर्ब ५९ करोड ९९ लाख ७० हजार रूपैयाँको बजेट स्वीकृत गरेको छ ।
बजेट तर्जुमा उपसमितिका संयोजक ऋषिराम भण्डारीका अनुसार उक्त बजेटमध्ये करिब ७० प्रतिशत अर्थात एक अर्ब ११ करोड रूपैयाँ अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा खर्च गरिनेछ । उनले सुरक्षित, भरपर्दो र आकर्षण पर्यटकीय स्थलको विकास गरी अन्तर्राष्ट्रिय पर्यटन समुदायमा नेपालको छविलाई स्थापित गर्ने उद्देश्यसहित आफ्नो बजेट तथा कार्यक्रम ल्याइएको बताए । उनले चालु आर्थिक वर्ष नेपालमा पर्यटक आगमन कम्तिमा १५ प्रतिशतले वृद्धि गर्दै समग्र पर्यटन क्षेत्रलाई चलायमान गराउने लक्ष्य लिएको बताए ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बजेट समयमै पारित गर्न सफल भएको उल्लेख गर्दै पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्धनद्वारा राष्ट्रिय उत्पादन तथा विदेशी मुद्रा आर्जनमा अभिवृद्धि गरी रोजगारीका अवसर सृजना गर्ने र पर्यटन क्षेत्रको दिगो विकासका लागि बजेट केन्द्रित भएको बताए । चालु आर्थिक वर्षमा नेपाल आसियन पर्यटन वर्ष २०२६ को रूपमा प्रवर्धन गर्ने पनि यस वर्षको बजेट तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी गुणस्तरीय पर्यटक आगमनलाई प्राथमिकीकरण गरी पर्यटकबाट हुने समग्र आयमा कम्तिमा १५ प्रतिशतले वृद्धि गर्ने बोर्डको लक्ष्य रहेको छ । बोर्डले चालु आर्थिक वर्षमा कम्तिमा ५० वटा स्रोत बजारमा प्रवर्धनात्मक कार्यक्रम गर्ने, पर्यटन व्यवसायका लागि आवश्यक थप ५ हजार जनशक्ति उत्पादन गर्ने र पर्यटनको विस्तारीकरणका लागि कम्तिमा २५ नयाँ पर्यटनको पूर्वाधार संरक्षण गर्ने भएको छ । जसका लागि ४३ करोड ६१ लाख विजियोजन गरिएको छ ।
त्यस्तै जनसम्पर्क तथा प्रचार–प्रसारका लागि १२ करोड ९५ लाख, अनुसन्धान, योजना तथा अनुगमनका लागि २ करोड ६७ लाख, पर्यटन सम्पदा तथा संसाधान विकासका लागि १८ करोड ६३ लाख ५० हजार विनियोजन गरिएको छ । नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्चालनका लागि ११ करोड ६६ लाख विनियोजन गरिएको छ । विशेष प्रवर्धनात्मक कार्यक्रम बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट, एड्भेन्चर ट्राभल मार्ट, सगरमाथा सम्मान कार्यक्रम र सफारी टुरिजम मार्टका लागि ४ करोड ६२ लाख विनियोजन गरिएको छ । बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, मलेसिया, थाइल्याण्ड र युरोपका विभिन्न देशमा प्रवर्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।
‘नेपालः लाइफटाइम एक्सपिरियन्स’ भन्ने नारालाई आधार मानेर विश्वका प्रमुख पर्यटन मेलाहरूमा सहभागिता जनाउने, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय संचारमाध्यमहरूसँग सहकार्य, ट्राभल ब्लगर र मिडिया फ्याम टुरजस्ता कार्यक्रमहरू प्राथमिकतामा राखेको छ । पर्यटन सम्बन्धी अध्ययन, तालिम र विज्ञ कार्यक्रमहरूका लागि पनि छुट्टै रकम छुट्याइएको छ । अन्तर्राष्ट्रिय मेला महोत्सव, सेल्स मिसन, डिजिटल मिडिया अभियान, सिने टुरिजम, डायस्पोरा कनेक्ट, ब्रान्डिङ, प्रभावशाली कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने बजेटमा उल्लेख छ ।
भौतिक पूर्वाधार निर्माण, पदमार्गको सुधार, नमस्ते सेन्टर स्थापना, बौद्ध गन्तव्य प्रवर्धन, पर्वतीय क्षेत्रका लागि तालिम, ग्रीन हस्पिटालिटी प्रमाणीकरण, घरेलु पर्यटन प्रवर्धन, पर्यटन टुर अपरेटर तालिम, भाषा र डिजिटल सीपसम्बन्धी तालिमलगायत कार्यक्रममार्फत गन्तव्य विकास र स्थानीय सशक्तिकरणलाई बलियो बनाउने उद्देश्य यस वर्षको बजेटले लिएको छ ।
मिथिला कला, प्याराग्लाइडिङ प्रतियोगिता, हात्ती महोत्सव, पर्वतीय र जंगल सफारी जस्ता सांस्कृतिक तथा साहसिक गन्तव्यहरूलाई पनि बजेटमार्फत प्रवर्धन गरिने भएको छ । पोखरा कार्यालयमार्फत पोखरा ट्राभल मार्ट, सडक महोत्सव, अन्नपूर्ण तथा मनास्लु पदमार्ग प्रवर्धन, पर्यटक प्रहरी तालिम, बेसिक तथा एडभान्स क्यानियोनिङ तालिम र पर्वतीय संग्रहालय प्रवर्धन कार्यक्रमहरू सञ्चालन गरिने बजेटमा उल्लेख छ । भारत, चीन र दक्षिण एसियाली मुलुकहरूमा पनि आक्रामक प्रचार कार्यक्रमहरू सञ्चालन गरिनेछन् । बजेटमार्फत दीगो पर्यटनका लागि पर्यटन सूचना व्यवस्थापन प्रणाली (टीम्स) को प्रभावकारी कार्यान्वयन, विपद् व्यवस्थापन कोष, जलवायु परिवर्तनमा संवेदनशीलता अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य विस्तार जस्ता दीगो पर्यटनका पक्षहरूलाई समेटिएको छ ।
‘यो बजेट केवल रकमको हिसाब मात्र होइन, यो नेपालको पर्यटन पुनर्जागरणको रोडम्याप हो । हामीले बजार अनुसारको रणनीति बनाएका छौं,’ प्रमुख कार्यकारी अधिकृत जोशीले भने, ‘स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गरेर नेपालको पर्यटन क्षेत्रलाई दिगो रुपमा विस्तार गर्नेछौं ।’
बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरि मैनालीले आगामी दिनमा निजी क्षेत्रको सहभागिता, स्थानीय तहको समन्वय र अन्तर्राष्ट्रिय साझेदारीको माध्यमबाट ‘स्मार्ट टुरिज्म नेपाल’ को अवधारणा कार्यान्वयन गरिने बताए ।