नेपालको पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्न सामूहिक ऐक्यबद्धता

टुरिजमफेस
काठमाडौं । अर्थतन्त्रको मुल आधार पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्ने विषयमा छलफल भएको छ । नेपालका पर्यटनसम्बन्धी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलका क्रममा जेनजी आन्दोलनका कारण सिर्जित चुनौतीका बाबजुद नेपालको पर्यटन क्षेत्र पुनर्उत्थान र प्रगतिको मार्गमा अघि बढिरहेको निष्कर्ष निकालिएको छ ।
पर्यटन मन्त्रालयका सचिव तथा नेपाल पर्यटन बोर्डका अध्यक्ष हरिप्रसाद मैनालीले पर्यटन क्षेत्रलाई पुनर्उत्थान गर्नका लागि नीतिगत अड्चन फुकाउन मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका छन् । सचिव मैनालीले नेपाल आउने पर्यटकलाई पहिलो प्राथमिकतामा राख्दै सुरक्षित आवागमन आवश्यक रहेको बताए ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले यस सिजनलाई सक्रिय बनाउनका लागि ‘पर्यटन प्याकेज’ सार्वजनिक गर्नुपर्ने बताएका छन् । उनले दूतावास, एनआरएनए र अन्य सञ्जालमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश दिन आवश्यक रहेको बताए । पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख मणिराम लामिछानेले पोखरामा रहेका पर्यटन व्यवसायीसँग त्यहाँ भएको क्षतिको विवरण संकलनका लागि समन्वय भइरहेको उल्लेख गर्दै पोखरामा रहेका र त्यहाँ आवागमन गर्ने पर्यटकलाई आवश्यक सहजीकरण गर्न तयार रहेको उल्लेख गरे ।
नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाहले होटल व्यवसायमा क्षति भए पनि पाहुनाका लागि स्वागत र आतिथ्य सेवामा कुनै कमी नहुने बताए । कैलाश टुर अपरेटर एशोसिएसनका अध्यक्ष बिमल नहर्कीले कैलाश यात्रामा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
पर्यटन बोर्डले स्थिति सामान्य भएसँगै नेपालका पर्यटनसँग सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतका विपद् तथा विभिन्न संकटका समयमा पनि नेपालको पर्यटन क्षेत्र पुनर्उत्थान भएको उदाहरण दिँदै आत्मविश्वासका साथ पर्यटन क्षेत्र सक्रिय बनाउन लाग्नुपर्ने धारणा राखे ।