सडक सुधार हुन नसक्दा उपत्यकाबाट बाहिर जान र आउनै समस्या, अग्रिम टिकट बुकिङ खोल्न सोच्दै महासङ्घ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्थालाइ मध्यनजर गरेर मात्रै दसैँका लागि अग्रिम बुकिङ खुला हुने जनाएको छ । यातायात व्यवस्था विभागमा भएको छलफलमा मुलुकका विभिन्न स्थानमा सडक पूर्ण रूपमा सञ्चालन हुन नसक्दा बाहिरदेखि सार्वजनिक यातायात उपत्यका आउन समय लागेकाले अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको महासङ्घले जनाएको हो ।
सडक सुधार हुन नसक्दा उपत्यकादेखि बाहिर जान र आउनै समस्या छ । हामीले धेरै दिन अघिदेखि बुकिङ खुला गर्ने तर सवारी साधन फर्केर आइपुगेन भने के गर्ने ? झन् समस्या हुन्छ । तसर्थ सडकको अवस्था हेरेर मात्रै अग्रिम बुकिङ खुलाउन सकिन्छ, महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले भने, ‘तर आमनागरिकले बसपार्कमा गएर दुई-तीन दिनअघिको टिकट लिन चाहेमा रोकेका छैनौँ । टिकट अहिले पनि छ ।’
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण तय गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए ।