चार मन्त्री नियुक्त, अन्तिममा रोकिइन् संगीता

टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चार मन्त्री नियुक्त गरेकी छन् । नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिमण्डल आठ सदस्यीय भएको छ । कार्कीले अन्तरिम सरकारमा १०÷११ जना मन्त्री बनाउने भनेकी छन् ।
सोमवार नवनियुक्त मन्त्रीहरू डा. मदन परियार, अनिल सिन्हा, महावीर पुन र जगदीश खरेललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराए । उनीहरूसँगै स्वास्थ्यमन्त्री बन्ने चर्चामा रहेकी डा. संगीता कौशल मिश्राको सपथग्रहण भने रोकिएको छ । प्रधानमन्त्री कार्कीले संगीताको नाम पनि मन्त्रीका लागि राष्ट्रपतिसमक्ष पठाएपछि उनका विरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा चलिरहेको तथ्य सार्वजनिक भएको थियो ।
अब उनी मन्त्री बन्ने÷नबन्ने भन्नेबारे यकिन छैन । पुनले शिक्षा, विज्ञान तथा प्रविधि, सिन्हाले उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार, परियारले कृषि तथा खरेलले सञ्चार, सूचना तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् ।