मादले काँक्रोखेतीमा गाउँपालिकाको सहयोग, राम्रो आम्दानी गर्दै किसान

टुरिजमफेस
दमौली । तनहुँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन् ।
आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताए । उहाँले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी रु ४० हजार ५०० आम्दानी गरेको बताए । गुरुङले ५० बोट काँक्रोका बिरुवा लगाउनुभएको छ । “बजार नपाउँदा विगतमा काँक्रो कुहिएर जाने गरेको थियो । हाल बजार राम्रै छ”,उनले भने, “गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएको छ, त्यसकारण सहज रूपमा काँक्रो बिक्री भइरहेको छ । यसले हामीलाई निकै सहज भयो ।”
सोही ठाउँका जितबहादुर गुरुङले रु ३० हजार ५००, तुलबहादुर गुरुङले रु १२ हजार ५००, सङ्गीता गुरुङले रु ४५ हजार ५००, लालश्री गुरुङले रु ४५ हजार ५००, तेजबहादुर गुरुङले रु २० हजार ५००, डिलुमाया गुरुङले रु १२ हजार ५००, रत्नमाया गुरुङले रु १४ हजार ५००, सीता गुरुङले रु नौ हजार ५००, रजमाया गुरुङले रु दश हजार ५००, फूलमाया गुरुङले रु ३५ हजार ५००, धनमाया गुरुङले रु १५ हजार ५००, खड्क गुरुङले रु ५० हजारको मादले काँक्रो बिक्री गरेका छन् ।
छिम्केश्वरी कृषक समूहमा आबद्ध यीलगायत कृषकले मात्रै रु चार लाख तीन हजार बराबरको मादले काँक्रो बिक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिए । आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार लाग्ने हाटबजारमा आफूहरूले उत्पादन गरेको मादले काँक्रोले राम्रो बजार पाएको उनले सुनाए । “गाउँपालिकाले जति उत्पादन भए पनि बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौँ । यसले कृषकलाई आकर्षित गरेको हो”, गुरुङले भने ।