पर्यटन बोर्डको ‘टुरिजम इन्साइट्स’

टुरिजमफेस
काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन थालेको छ ।
यसले नीति निर्माता, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पुग्ने बोर्डको अपेक्षा छ । बोर्डका अनुसन्धान विभाग अधिकृत कविन्द्र भट्टका अनुसार प्रकाशनमा आगन्तुक संख्या, मुख्य स्रोत बजार, क्षेत्रगत आगमन, विदेशी मुद्रा आय र प्रत्यक्ष विदेशी लगानीका तथ्यांक समेटिएका छन् ।
साथै, संयुक्त राष्ट्रसंघ पर्यटन संगठन र विश्व यात्रा तथा पर्यटन परिषद् जस्ता अन्तर्राष्ट्रिय निकायका तथ्यांक र प्रवृत्ति पनि समावेश छन् । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले टुरिजम इन्साइट्सले नेपालको पर्यटन क्षेत्रलाई दिगो विकासतर्फ लैजान आवश्यक तथ्यांक र रणनीतिक दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरे ।
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले निजी क्षेत्रसँगको सहकार्यमा थप समन्वय आवश्यक रहेको र सरकारलाई पर्यटनको महत्वबारे थप प्रष्ट पार्नुपर्ने सुझाव दिए ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टर महासचिव समेत रहेका बोर्ड सदस्य नरेन्द्र भट्टले संकटका बेला दीर्घकालीन रणनीति निर्माण गरी पर्यटन क्षेत्रलाई कमजोर हुन नदिन पहल थाल्नुपर्नेमा जोड दिए ।
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले होटल क्षेत्रको समस्या समाधान गर्न सामूहिक प्रयासको आवश्यकता औँल्याए । पाटा–नेपाल च्याप्टर अध्यक्ष खेम लकाई, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष सागर पाण्डे, सोट्टो अध्यक्ष मानबहादुर शाही, ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च महासचिव चोपेन्द्र खड्का, पाटा–नेपाल च्याप्टर सीईओ सुरेश बुडाल, नेपाल उद्योग परिसंघ पर्यटन विभागका पम्फा धमला लगायत निजी क्षेत्रका प्रतिनिधिले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा प्रवद्र्धन गर्न, विदेशी इन्फ्लुएन्सरलाई आमन्त्रण गर्न र सरकारसँग टास्क फोर्स गठन गरी संकट सामना गर्न सुझाव दिए ।