अटोमोबिल उद्योग र शिक्षाको सहकार्य सुदृढ हुँदै
काठमाडौं । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले थापाथली क्याम्पस र अटोमोबिल क्याम्पससँगको सहकार्यमा मोबिलिटी संवाद कार्यक्रम सम्पन्न गरेको छ। उद्योग–शिक्षा सहकार्यलाई बलियो बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा थापाथली क्याम्पसका प्रमुख डा. खेम ज्ञवालीले उद्योग–शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गरे । यस्ता संवादहरूले व्यवहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँगको सहकार्य विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले नाइमा र अटोमोबिल क्याम्पसलाई धन्यवाद दिए ।
प्राविधिक प्रस्तुति र प्यानल छलफल
कार्यक्रममा थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्र देवकोटाको सहजीकरणमा प्राविधिक प्रस्तुति प्रस्तुत गरिएको थियो। प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमा बोर्ड सदस्य शेखर गोल्छा र थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखेल सहभागी थिए ।
‘लोकल म्यानुफ्याक्चरिङ’ अपरिहार्य
कार्यक्रमको स्वागत मन्तव्य अटोमोबिल तथा मेकानिकल इन्जिनियरिङ विभागका प्रमुख इ. देवेन्द्रबहादुर राउत र नाइमा सदस्य तथा सारडा ग्रुपका निर्देशक गौरव सारडाले दिए । । इ. राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै शैक्षिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
गौरव सारडाले सीकेडी उत्पादनलाई सरकारको नीतिसँग जोडिएको व्यवहारिक औद्योगिक मोडेलको रूपमा प्रस्तुत गर्दै यसले दक्ष जनशक्ति उत्पादन, युवा रोजगारी, प्रविधि स्थानान्तरण र स्थानीय आपूर्ति श्रृङ्खला विकासमा महत्वपूर्ण योगदान दिने बताए ।
ट्राफिक प्रहरीका लागि प्रविधिमैत्री तालिम
कार्यक्रमको समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी र नाइमा बोर्ड सदस्य यमुना श्रेष्ठले दिए। एसएसपी अधिकारीले चालक, ट्राफिक प्रहरी तथा सरोकारवालालाई आधुनिक सवारी प्रविधिबारे जानकारी दिनु आवश्यक रहेको उल्लेख गर्दै उदीयमान सवारी प्रविधि र सफ्ट स्किल्ससम्बन्धी तालिम प्रदान गर्ने नाइमाको पहलको प्रशंसा गरे ।
