काठमाडौँ
अभिनेत्री नम्रता सापकोटा वैवाहिक जीवनमा प्रवेश गरेकी छन्। उनले ओजस नामका युवकसँग काठमाडौंस्थित आफ्नै निवासमा आयोजित एक सादगीपूर्ण समारोहबीच विवाह गरेकी हुन्।
विवाह कार्यक्रममा दुवै पक्षका सीमित पारिवारिक सदस्य र निकट आफन्तहरूको मात्र उपस्थिति रहेको बताइएको छ। बुधबार साँझ मेहन्दी समारोहको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले विवाहबारे संकेत गरेकी थिइन्, तर जीवनसाथीबारे विस्तृत जानकारी भने खुलाएकी थिइनन्।
ओशो सन्यास जीवन अपनाएकी नम्रता यसअघि एक अभिव्यक्तिका कारण चर्चामा आएकी थिइन्। २०७८ सालतिर उनले ‘तीन–चार वर्षभित्र विवाह नभए पनि बच्चा जन्माउने’ धारणा सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक बहस र ट्रोलको सामना गर्नुपरेको थियो। अहिले विवाहको खबर सार्वजनिक भएसँगै पुरानो अभिव्यक्तिलाई लिएर पुनः सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू भइरहेका छन्।
सन् २०१३ मा प्रदर्शनमा आएको अन्तरालबाट अभिनय यात्रा सुरु गरेकी उनले हालसम्म एक दर्जनभन्दा बढी नेपाली चलचित्रमा काम गरिसकेकी छन्। तीमध्ये छक्का पञ्जा व्यावसायिक रूपमा सफल चलचित्रका रूपमा चिनिन्छ।