भक्तपुर–१ मा रास्वपाको ऐतिहासिक जित, नेमकिपाको दशकौँ पुरानो पकड समाप्त
काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को लामो समयदेखि कायम रहेको पकड तोड्दै ऐतिहासिक विजय हासिल गरेको छ। यस परिणामसँगै नेमकिपा पहिलोपटक संसद्मा प्रतिनिधित्वविहीन बनेको छ।
उक्त क्षेत्रबाट रास्वपाका उम्मेदवार राकेश रञ्जित विजयी भएका हुन्। उनले नेमकिपाका नेता प्रेम सुवाललाई पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका छन्।
मतगणनाको अन्तिम नतिजा अनुसार रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गरेका छन् भने सुवालले २८ हजार १४७ मत ल्याएका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपाने ४ हजार २८२ मतसहित तेस्रो स्थानमा रहेका छन्। यस नतिजासँगै २०४८ सालदेखि निरन्तर प्रतिनिधित्व गर्दै आएको नेमकिपाको संसदीय उपस्थिति यसपटक समाप्त भएको छ।
