अर्थमन्त्री वाग्लेलाई नाइमाको सुझाव: अटोमोबाइल क्षेत्रलाई विलासिता होइन, आवश्यकताका रूपमा लिनुपर्छ
टुरिजमफेस
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत तथा प्रणालीगत सुधारका विस्तृत सुझाव पेश गरेको छ।
नाइमाका अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री वाग्लेलाई बधाई तथा शिष्टाचार भेट गर्दै स्थिर, पूर्वानुमानयोग्य र सरोकारवालासँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गरेको हो। भेटका क्रममा नाइमाले अटोमोबाइल क्षेत्रलाई विलासिता नभई आवश्यकताको रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ।
नाइमाले समग्र कर भार घटाउने, कर संरचना सरल र सन्तुलित बनाउने तथा सवारी साधन खरिदका लागि ८० प्रतिशतसम्म कर्जा र २० प्रतिशत डाउन पेमेन्ट रहने हायर पर्चेज व्यवस्था कायम गर्नुपर्ने माग राखेको छ। यसले वित्तीय पहुँच सहज हुने संस्थाको भनाइ छ।
भन्सार जाँचपास सम्पन्न भइसकेपछि पनि फरक व्याख्याका आधारमा लेखापरीक्षण तहमा बेरुजु उठ्ने प्रवृत्तिले व्यावसायिक अनिश्चितता सिर्जना गरेको भन्दै नाइमाले स्पष्ट, एकरूप र पारदर्शी प्रणाली आवश्यक रहेको औंल्याएको छ। साथै भन्सार प्रक्रिया सहजीकरण, परीक्षण पूर्वाधार विकास, यातायात ऐन पुनरावलोकन, डिजिटल प्रणाली एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रण र ‘मेक इन नेपाल’ अन्तर्गत एसेम्बलिङ उद्योग प्रवर्द्धनका विषय पनि उठाइएको छ।
विद्युतीय सवारी साधनका लागि स्पष्ट र प्रोत्साहनमुखी नीति आवश्यक रहेको उल्लेख गर्दै नाइमाले हाइब्रिड सवारी साधनको उचित वर्गीकरण गरी प्रविधिअनुसार सन्तुलित नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नाइमाले प्रस्तुत गरेका सुझावहरू सान्दर्भिक रहेको बताउँदै निजी क्षेत्रसँग निरन्तर संवाद आवश्यक रहेको धारणा राखे। उनले निजी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएकाले सरकार निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सकारात्मक रहेको र कर प्रणालीलाई थप व्यवहारिक बनाउने दिशामा काम भइरहेको जानकारी दिए। साथै आगामी नीति तथा कार्यक्रम र बजेटमा यथासम्भव सुझाव समेट्ने प्रतिबद्धता पनि व्यक्त गरे।
यसैबीच नाइमाको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग पनि भेट गरी मोबिलिटी र अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ। मन्त्री लम्सालले अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूले राजस्व र रोजगारी सिर्जनामा पुर्याएको योगदानको प्रशंसा गर्दै कर राजस्वको निश्चित हिस्सा सम्बन्धित क्षेत्रको विकासमा पुनः लगानी गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।
नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको एकीकृत प्रतिनिधित्व गर्ने संस्था हो, जसले नीति सुधार, उद्योग प्रवर्द्धन र दिगो यातायात प्रणाली विकासमा सक्रिय भूमिका खेल्दै आएको छ।
