समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको दोभान वरिपरि घना जंगल, भिरालो पहाड र सेताम्मे हिमालले घेरिएको छ। धौलागिरि चौथो हिमालको फेदीबाट बग्ने कुनावाङ खोला र धौलागिरि प्रथम क्षेत्रबाट आउने म्याग्दी नदी मिसिने भएकाले यस ठाउँको नाम ‘दोभान’ रहन गएको स्थानीय बताउँछन्। केही वर्षअघिसम्म गोठालाहरूको अस्थायी बासस्थानमा सीमित यो क्षेत्र अहिले भने धौलागिरि चक्रीय पदमार्गको महत्वपूर्ण विश्रामस्थलमा रूपान्तरण हुँदैछ।
धौलागिरि हिमाल आरोहणमा जाने विदेशी तथा स्वदेशी पर्यटकले यहाँ एक रात बिताउन थालेपछि दोभानको परिचय विस्तार भएको हो। शान्त वातावरण, हिमाली हावा, चराको चिरबिर आवाज र प्रकृतिको मौलिक स्वरूपले पर्यटकलाई लोभ्याउने गरेको छ। यहाँबाट एक दिनको पैदल यात्रापछि धौलागिरि इटालियन बेसक्याम्प र रमणीय कुनावाङ ताल पुग्न सकिन्छ, जसले दोभानको पर्यटन मूल्य अझ बढाएको छ।
स्थानीयका अनुसार गोलाकार आकारको कुनावाङ तालमा पातपतिङ्गर खस्नासाथ चराहरूले टिपेर सफा गर्ने अनौठो दृश्य पर्यटकका लागि थप आकर्षण बनेको छ। यही क्षेत्रमा हिममानव (यति) सम्बन्धी अध्ययनका लागि जापानी अनुसन्धानकर्ताले चासो देखाइरहेका छन्। यसले दोभानलाई साहसिक र रहस्यमय पर्यटनसँग पनि जोडेको छ।
दोभान वरपरका जंगल र पहाडी क्षेत्रमा मृग, घोरल, झारललगायत वन्यजन्तु अवलोकन गर्न पाइन्छ। बसन्त ऋतुमा लालीगुराँसले राताम्य हुने वनपाखा र वर्षायाममा ढकमक्क फुल्ने बुकीले यस क्षेत्रलाई अझ मनमोहक बनाउने गरेको छ। यही प्राकृतिक विविधताले दोभानलाई ‘इको–टुरिज्म’ र ‘नेचर ट्राभल’ का लागि उपयुक्त गन्तव्य बनाइरहेको छ।
पहुँच विस्तारसँगै दोभानमा पर्यटन गतिविधि पनि बढ्न थालेको छ। म्याग्दीखोला जलविद्युत आयोजनाले निर्माण गरेको पहुँचमार्गले अहिले जिप र मोटरसाइकल दोभानसम्म पुग्न थालेका छन्। यसअघि बगरदेखि दिनभरि जोखिमपूर्ण पदमार्ग हिँड्नुपर्ने अवस्था थियो। अहिले भने बेनीबाट पाँच घण्टामै दोभान पुग्न सकिने भएपछि आन्तरिक पर्यटकको आगमन बढ्दो छ।
पर्यटकको सुविधाका लागि अहिले दोभानमा दुई वटा होटल सञ्चालनमा छन्, जहाँ करिब ५० जनासम्म बस्न सक्ने व्यवस्था छ। स्थानीय परिकारका रूपमा रातो च्याउ र निगालोको टुसाको स्वाद लिन पाइने भएकाले ग्रामीण खानासंस्कृतिले पनि पर्यटकलाई आकर्षित गरिरहेको छ।
विदेशी पर्यटकले पछिल्लो समय हेलिकप्टरमार्फत आधार शिविर पुग्ने विकल्प रोज्न थालेपछि पदमार्गको चहलपहल केही घटेको भए पनि सडक पहुँच विस्तारले दोभानमा आन्तरिक पर्यटनको नयाँ सम्भावना सिर्जना गरेको छ। स्थानीयवासीले अब दोभानलाई केवल गोठालो खर्क नभई हिमाली पर्यटनको उदीयमान केन्द्रका रूपमा हेर्न थालेका छन्।