यस वर्ष मनसुन कमजोर रहने संकेत, कम वर्षा र अत्यधिक गर्मीको सम्भावना
काठमाडौं । यस वर्ष नेपालमा मनसुन कमजोर हुने संकेत देखिएको छ । मौसमविद्हरूका अनुसार औसतभन्दा कम वर्षा हुने र तापक्रम सामान्यभन्दा बढी रहने सम्भावना रहेको छ ।
प्रशान्त महासागरमा विकसित ‘एल निनो’ प्रभाव तथा हिन्द महासागरको ‘इन्डियन ओसन डाइपोल (आईओडी)’ तटस्थ अवस्थामा रहनुले मनसुन प्रणाली कमजोर बन्ने आकलन गरिएको हो । यद्यपि केही क्षेत्रमा भने सामान्यभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुन समय मानिन्छ । यही अवधिमा वार्षिक वर्षाको झण्डै ८० प्रतिशत पानी पर्ने भएकाले कृषि, जलविद्युत र जनजीवनमा यसको प्रत्यक्ष प्रभाव रहने गर्दछ । बाढी, पहिरो तथा डुबानको जोखिमका कारण पनि मनसुनको अवस्थालाई महत्वका साथ हेरिन्छ ।
दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) ले हालै सार्वजनिक गरेको मौसमी प्रतिवेदनअनुसार दक्षिण एसियाका केही क्षेत्रमा सामान्य वा बढी वर्षा हुने भए पनि मध्य भागमा वर्षा कम हुने सम्भावना देखाइएको छ । नेपालका अधिकांश भूभाग यही ‘कम वर्षा हुने क्षेत्र’मा पर्ने भएकाले समग्रमा सुख्खा अवस्था देखिन सक्ने अनुमान गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार मनसुनको प्रारम्भिक चरण विशेषगरी जेठ १५ देखि साउन १५ सम्म अपेक्षाकृत सुक्खा हुन सक्छ । उनका अनुसार वर्षा कम हुँदा यस वर्ष धान रोपाइँसमेत प्रभावित भई कुल रोपाइँ ३०–४० प्रतिशतमा सीमित हुन सक्ने जोखिम छ ।
मौसमविद्हरूका अनुसार एल निनोका कारण बादल बन्ने प्रक्रिया कमजोर हुन सक्छ भने आईओडी तटस्थ रहँदा हिन्द महासागरबाट आउने जलवाष्पयुक्त हावा नेपालसम्म सहज रूपमा नआउने सम्भावना छ । यसले मनसुन प्रणालीलाई थप कमजोर बनाउन सक्छ ।
विपद् तथा जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले सुरुमा केही वर्षा भए पनि जुन अन्त्यपछि सुक्खा बढ्न सक्ने बताएका छन् । उनका अनुसार जुलाईजस्तो बढी पानी पर्ने समयमा अपेक्षाकृत कम वर्षा हुन सक्छ भने सेप्टेम्बर अन्त्यतिर पुनः मनसुन सक्रिय बन्ने सम्भावना छ ।
नेपालको कृषि प्रणाली अझै पनि मनसुनी वर्षामा अत्यधिक निर्भर छ । वर्षा कम हुँदा धानसहित वर्षे बालीमा असर पर्नुका साथै खाद्य असुरक्षा बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । त्यसैगरी नदीमा आधारित जलविद्युत आयोजनाहरूमा पानीको बहाव घट्दा ऊर्जा संकटको जोखिमसमेत देखिएको छ ।
यस वर्ष मनसुन अवधिमा अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा माथि रहने अनुमान गरिएको छ । अत्यधिक गर्मीले विशेषगरी तराई क्षेत्रमा जनस्वास्थ्य, कृषि उत्पादन तथा दैनिक जीवनमा असर पार्न सक्ने विज्ञहरूको चेतावनी छ ।
तर जल तथा मौसम विज्ञान विभागले भने नेपालको मौसम प्रणाली धेरै कारकमा निर्भर हुने भएकाले अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने जनाएको छ । विभागका अनुसार मनसुनको अवस्थाबारे समय–समयमा अद्यावधिक पूर्वानुमान सार्वजनिक गरिनेछ ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मौसमको स्वरूप अनियमित बन्दै गएको छ । कतै अत्यधिक वर्षा हुने र कतै लामो समयसम्म सुख्खा रहने प्रवृत्ति बढेकाले विज्ञहरूले पानीको भण्डारण, वैकल्पिक बालीको प्रयोग तथा अनुकूलन कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
