यस वर्षदेखि पहिलोपटक धवलागिरि आरोहण दिवस हिमालसँग प्रत्यक्ष जोडिएको भूगोल मुदीमै मनाउन थालिएको छ। धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार यसअघि पहुँच र पहलको अभावमा कार्यक्रम पोखरा वा काठमाडौंमै सीमित हुने गरेको थियो। अहिले भने धवलागिरिको पहिचान म्याग्दीसँग जोडिएको सन्देश दिन स्थानीय तहले पहल गरेको हो।
सन् १९६० मे १३ मा अस्ट्रियाली आरोही कुर्ट डिम्बर्गर नेतृत्वको टोलीले पहिलोपटक धवलागिरिको सफल आरोहण गरेको थियो। टोलीमा पिटर डियनर, एर्न्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे सहभागी थिए।
गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र धवलागिरि गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले आरोहण दिवस आयोजना गरेको हो। कार्यक्रममा गण्डकी प्रदेशकी पर्यटन तथा उद्योगमन्त्री यशोदा रिमाल लगायत विभिन्न जनप्रतिनिधि र पर्यटनकर्मी सहभागी भएका थिए।
मुदीका वडाध्यक्ष यामप्रसाद घर्तीका अनुसार गाउँपालिकाको केन्द्र मुनासम्म सवारीमार्फत पुगेका अतिथिहरू त्यहाँबाट पदयात्रा गर्दै मुदी पुगेका थिए। स्थानीयवासीले धवलागिरिसँग सम्बन्धित कार्यक्रम आफ्नै भूगोलमा आयोजना हुनुलाई गौरवको विषय मानेका छन्।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यका अनुसार धवलागिरि हिमाललाई विश्वकै जोखिमपूर्ण र साहसिक आरोहणमध्ये एक मानिन्छ। यहाँको मौसम छोटो समयमै फेरिने र भूबनोट कठिन भएकाले आरोहीका लागि चुनौतीपूर्ण मानिन्छ।
यस आरोहण सिजनमा धवलागिरि चढ्न चार समूहका ३० आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार १८ पुरुष र १२ महिलाले आरोहण अनुमति प्राप्त गरेका हुन्। यसबाट सरकारले एक करोड ३४ लाख रुपैयाँभन्दा बढी सलामी दस्तुर संकलन गरेको छ।