आर्थिक सर्वेक्षणः पर्यटनमा सुधार, खर्चमा गिरावट
फाइल तस्बिर अर्थ मन्त्रालय
टुरिजमफेस
काठमाडौं । चालु आर्थिक वर्ष विभिन्न राजनीतिक, आर्थिक र प्राकृतिक चुनौतीबीच बिते पनि नेपालको अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो संकेत देखाएको सरकारी निष्कर्ष सार्वजनिक भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले देशको अर्थतन्त्र विस्तारै पुनरुत्थानको दिशातर्फ अघि बढिरहेको चित्र प्रस्तुत गरेको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै विश्वव्यापी अनिश्चितता, व्यापारिक अवरोध, क्षेत्रीय द्वन्द्व र आन्तरिक अस्थिरताका बाबजुद नेपालले चालु आर्थिक वर्षमा ३.८५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको जानकारी दिए । पछिल्लो दशकको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहेकाले यस वर्षको वृद्धि दरलाई चुनौतीपूर्ण परिस्थितिमा पनि सकारात्मक मानिएको छ ।
सरकारका अनुसार वर्षको सुरुमै आएको बाढीपहिरो, भदौ महिनाको जेन–जी आन्दोलनका क्रममा भएको ठूलो भौतिक क्षति, राजनीतिक उतारचढाव, असमयको वर्षा र मूल्यवृद्धिले अर्थतन्त्रमा दबाब सिर्जना गरेको थियो । त्यसका बावजूद अर्थतन्त्र पूर्ण रूपमा थलिन नपुगेको निष्कर्ष सर्वेक्षणले निकालेको छ ।
इन्धन खपत घट्यो, ऊर्जाको पहुँच बढ्यो
आर्थिक सर्वेक्षणले देशमा पेट्रोलियम पदार्थको खपत उल्लेखनीय रूपमा घटेको देखाएको छ । पेट्रोलको बिक्री ६.४ प्रतिशतले घट्दा डिजेलको खपत ८.७ प्रतिशतले ओरालो लागेको छ । हवाई इन्धन, एलपी ग्यास र मट्टितेलको प्रयोगमा समेत गिरावट देखिएको छ ।
विशेषगरी मट्टितेलको आयात झन्डै ४८ प्रतिशतले घट्नुले वैकल्पिक ऊर्जाको प्रयोग बढ्दै गएको संकेत गरेको छ । पेट्रोलियम आयातमा आएको कमीलाई आर्थिक गतिविधिको सुस्तता, उपभोगमा संयमता तथा विद्युत् प्रयोगको विस्तारसँग जोडेर विश्लेषण गरिएको छ ।
ऊर्जा क्षेत्रमा भने पहुँच विस्तार उल्लेखनीय देखिएको छ । देशको कुल विद्युत् जडित क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ भने ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको दाबी गरिएको छ । तर उत्पादन भएको ऊर्जाको औद्योगिक उपयोग अझै अपेक्षाअनुसार विस्तार हुन नसकेको सर्वेक्षणले संकेत गरेको छ ।
पूर्वाधार विस्तार भए पनि गति सुस्त
सडक पूर्वाधारमा विस्तार निरन्तर जारी रहेको देखिएको छ । चालु वर्षको फागुनसम्म ५८० किलोमिटर सडक थपिएसँगै कुल सडक सञ्जाल ३६ हजार ८०६ किलोमिटर पुगेको छ ।
यद्यपि कालोपत्रे सडकको हिस्सा अझै सीमित रहेको र ग्रामीण क्षेत्रमा गुणस्तरीय सडक अभाव कायमै रहेको सर्वेक्षणले देखाएको छ ।
सिँचाइ आयोजनाको प्रगति पनि असमान देखिएको छ । सिक्टा सिँचाइ आयोजना, रानी जमरा कुलरिया आयोजना र भेरी–बबई डाइभर्सन आयोजना जस्ता राष्ट्रिय गौरवका आयोजनामा केही प्रगति भए पनि समग्र कार्यान्वयन गति अपेक्षाकृत कमजोर रहेको उल्लेख गरिएको छ ।
डिजिटल कारोबार तीव्र रूपमा बढ्यो
नेपालको डिजिटल अर्थतन्त्र भने तीव्र गतिमा विस्तार भइरहेको देखिएको छ । क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ भने मोबाइल बैंकिङ कारोबार ५ करोड ४० लाख नाघेको छ ।
यससँगै एटिएम, डेबिट कार्ड तथा पिओएस प्रणालीमार्फत हुने कारोबार घट्दै गएको देखिएको छ । यसले नगद तथा कार्ड आधारित कारोबारबाट मोबाइल र डिजिटल प्रणालीतर्फ उपभोक्ताको आकर्षण बढेको संकेत गर्छ ।
निजी लगानी बढ्यो, सरकारी हिस्सा घट्यो
आर्थिक सर्वेक्षणले मुलुकको लगानी संरचनामा निजी क्षेत्रको भूमिका बढ्दै गएको देखाएको छ । कुल लगानी १५.६ प्रतिशतले बढेर २१ खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ ।
तर सरकारी लगानीको हिस्सा घट्दै निजी क्षेत्रको हिस्सा ७३ प्रतिशतभन्दा माथि पुगेको छ । यसले सार्वजनिक क्षेत्रको खर्च विस्तार सुस्त भइरहेका बेला निजी क्षेत्रले लगानीको नेतृत्व गरिरहेको देखाएको छ ।
यद्यपि अर्थतन्त्र अझै उपभोगमुखी रहेको तथ्यांकले देखाएको छ । कुल गार्हस्थ्य उत्पादनको ९० प्रतिशतभन्दा बढी हिस्सा उपभोगमै खर्च हुने अनुमान गरिएको छ । खाद्यान्नमा खर्चको हिस्सा अझै उच्च रहे पनि सेवा तथा गैरखाद्य वस्तुको प्रयोग विस्तार हुँदै गएको देखिन्छ ।
बचत बढ्यो, तर उत्पादन कमजोर
विप्रेषण आप्रवाह र लगानी सुस्तताका कारण राष्ट्रिय बचतमा सुधार देखिएको छ । कुल राष्ट्रिय बचत ४४.७७ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षभन्दा उल्लेखनीय वृद्धि हो ।
तर बचत र लगानीबीचको अन्तर अझै ठूलो रहेको छ । यसले बचत उत्पादनमूलक क्षेत्रमा पर्याप्त रूपमा परिचालन हुन नसकेको संकेत गर्छ ।
त्यस्तै राजस्व संरचनामा आयातमुखी निर्भरता अझै बलियो देखिएको छ । कुल राजस्वमा आयात करको हिस्सा ४७ प्रतिशतभन्दा बढी पुगेको छ । यसले आन्तरिक उत्पादन र उद्योग विस्तार कमजोर रहेको संकेत गरेको छ ।
विदेशी मुद्रा सञ्चिति बलियो
विदेशी विनिमय सञ्चिति ३४ खर्ब रुपैयाँ नाघेको छ । यसले करिब साढे १८ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता रहेको सरकारको दाबी छ ।
बैंकिङ क्षेत्रमा निक्षेप बढे पनि कर्जा प्रवाह अपेक्षाकृत कम देखिएको छ । बैंकमा पर्याप्त तरलता हुँदाहुँदै पनि लगानी विस्तार सुस्त रहेको सर्वेक्षणले देखाएको छ ।
पर्यटनमा सुधार, खर्चमा गिरावट
पर्यटन क्षेत्रमा पर्यटक आगमन बढेको छ । सन् २०२५ मा ११ लाख ६२ हजार विदेशी पर्यटक नेपाल आएका छन् । औसत बसाइ अवधि १६ दिनभन्दा बढी पुगे पनि प्रतिपर्यटक दैनिक खर्च घटेको छ ।
यसले पर्यटक संख्या बढे पनि पर्यटनबाट हुने आम्दानी अपेक्षाकृत कमजोर रहेको संकेत गरेको छ ।
शिक्षा क्षेत्रमा गुणस्तर चुनौती
शिक्षा क्षेत्रमा पूर्वाधार विस्तार भए पनि सिकाइ उपलब्धि कमजोर देखिएको छ । कक्षा ३ का विद्यार्थीको पठन सीप तथा गणितीय क्षमता अपेक्षाकृत कम रहेको सर्वेक्षणले जनाएको छ ।
कक्षा ५ र १० मा गणित विषयमा न्यूनतम उपलब्धि हासिल गर्ने विद्यार्थीको संख्या कम देखिएको छ । अंग्रेजी विषयमा केही सुधार भए पनि गणित र आधारभूत सिकाइ गुणस्तर चुनौतीपूर्ण अवस्थामै रहेको उल्लेख गरिएको छ ।
सरकारले १० हजारभन्दा बढी कक्षाकोठामा सूचना प्रविधि प्रयोगशाला स्थापना गरेको र ६८ जिल्ला साक्षर घोषणा भएको जानकारी दिएको छ । तर शिक्षा क्षेत्रमा पहुँच बढे पनि गुणस्तरीय सिकाइ अझै मुख्य चुनौतीका रूपमा देखिएको सर्वेक्षणको निष्कर्ष छ ।
फाइल तस्बिर अर्थ मन्त्रालय
