कांग्रेस महाधिवेशनलाई लिएर देउवा पक्ष र गगन पक्षबीच विवाद चर्कियो, असोज ३ को अधिवेशनमा नजान अपिल
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति र प्रक्रियालाई लिएर पार्टीभित्रको विवाद थप चर्किएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति गगन थापाको नेतृत्वमा अघि बढाइएको विशेष महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेको छ।
देउवा पक्षबाट गठित महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सोमबार पत्रकार सम्मेलन गर्दै असोज ३ गतेदेखि सुरु गर्ने भनिएको अधिवेशनमा सहभागी नहुन अपिल गरेका हुन्।
उनले थापा नेतृत्वको समितिले अघि सारेको अधिवेशनलाई विधि र प्रक्रिया मिचेर गर्न लागिएको भन्दै त्यसबाट अलग रहन कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गरे।
“असोज ३ गतेबाट विधि, प्रक्रिया मिची सुरु गर्ने भनिएको तथाकथित अधिवेशन/महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौं,” कोइरालाले भने।
कोइराला नेतृत्वको समितिले भने १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले तय गरेको कार्यतालिकाअनुसार अधिवेशनमा सहभागी हुन आग्रह गरेको छ।
उनका अनुसार वैधानिक कार्यतालिकाअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ। त्यसपछि विभिन्न तहका अधिवेशन हुँदै मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।
“१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१ देखि २३ गतेसम्म हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरूमा हार्दिक अनुरोध गर्दछौं,” कोइरालाले भने।
उनले गगन थापा नेतृत्वको विशेष महाधिवेशनसम्बन्धी प्रचारप्रसारबाट समेत प्रभावित नहुन नेता, कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरे।
“सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुने हार्दिक अपिल गर्दछौं,” उनले भने।
कांग्रेसमा महाधिवेशनको प्रक्रिया र नेतृत्वलाई लिएर दुई पक्षबीच फरक–फरक कार्यतालिका सार्वजनिक भएका छन्। थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको समितिले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ भने कोइराला नेतृत्वको समितिले असोज १५ गतेदेखि वडा अधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।
यससँगै कांग्रेसको महाधिवेशन कहिले र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा पार्टीभित्रको विवाद थप पेचिलो बनेको छ।
