जलजलामा ‘गोठस्टे’ सञ्चालन, गोठालाहरुलाई अतिरिक्त आम्दानी र पर्यटकलाई सहज
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल जलजलामा पर्यटकको सुविधाका लागि ‘गोठस्टे’ (गोठबास) सञ्चालन भएको छ ।
समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा बस्तीदेखि टाढा रहेको जलजला घुम्न आउने पर्यटकलाई खाने बस्ने सुविधाका लागि स्थानीय पशुपालक किसानहरुले गोठबास सञ्चालन गरेका हुन् । गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने ढोरपाटन शिकार आरक्षमा समेटिएको जलजलामा बस्ती, होटल र रेष्टुराँ छैन ।
ढोरपाटन शिकार आरक्षको नीतिगत व्यवस्थाका कारण पक्की संरचना बनाउन नमिल्ने भएपछि गोठमा पर्यटक राख्ने नयाँ अवधारणा अघि सारिएको गोठबास सञ्चालक फुलबहादुर विश्वकर्माले बताए ।
“पर्यटकहरुको अनुरोधमा गोठमै खाने बस्ने सुविधा दिएको हो”, उनले भने, “गोठालाहरुलाई अतिरिक्त आम्दानी र पर्यटकहरुलाई सहज भएको छ ।” गोठबासमा बस्नका लागि पाहुनाहरुले अग्रिम रुपमा फोन गरेर ‘बुक’ गर्नुपर्छ । बीस जनाभन्दा बढी पाहुना भएमा पालो लगाउने गरिएको विकले बताए।
“यसअघि ढोरपाटनमा आएका सिमित पर्यटकहरु मात्रै जलजलामा आउने गरेका थिए”, उनले भने, “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार÷पाँच वटा गाडी तथा १५÷२० वटा मोटरसाइकलमा १०० जनासम्म पर्यटक आउन थालेका छन् ।”
पर्यटकलाई सहज
गोठबासमा च्याउ, टुसा, ढकायोको तरकारी, ढिडो, आटो, गाईभैँसीको दूध, दही, मोही, खसीको मासुको परिकारको स्वाद लिन पाइन्छ । आन्तरिक पर्यटक प्रतापजङ्ग थापाले गोठबासको सुविधा भएपछि टेन्ट लगेर जानुपर्ने अथवा ओडार खोजेर रात कटाउनुपर्ने अवस्था हटेको बताए ।
घुम्ती गोठको महशुस गर्न पाइने उनले अनुभव सुनाए । जलजला धौलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । बर्खायाममा जलजला उपत्यकामा भेडाबाख्रा, गाईभैँसी र घोडाको घुम्ती गोठ लैजाने चलन छ ।
बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथा उत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउने जलजलादेखि मुना हुँदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।
मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहासिक र आकर्षक गन्तब्य बनेको छ । नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षको दुई वटा मनसुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । जलजला ढोरपाटन शिकार आरक्षको ‘भ्यू पोइन्ट’को रुपमा विकास हुन थालेको छ ।
जलजलाको आकर्षण
समथर पाटनको शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउनु जलजला उपत्यकाको विशेषता हो । समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गराउँछ । जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे« र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विशेषता हो । जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपाण्डा)को वासस्थान भएकाले थप महत्व रहेको छ ।
पूर्वाधार थपिँदै
धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गोठबास प्रभावकारी बनेको बताए । “जलजलामा खानेपानीको व्यवस्था मिलाएको र सार्वजनिक शौचालय निर्माण थालिएको छ”, उनले भने, “ढोरपाटन शिकार आरक्षसँग समन्वय गरेर अस्थायी टहरा र गोठ बनाएर गोठबासको क्षमता बढाउन पहल गरिएको छ ।”
सार्वजनिक शौचालय र खानेपानी निर्माणका लागि चालु आर्थिक वर्षमा रु नौ लाख बजेट विनियोजन गरेको धौलागिरि गाउँपालिकाले यसै हप्ता जलजलामा पर्यटन प्रवद्र्धन कार्यक्रम पनि सम्पन्न गरेको छ । ताकमकोत, मुनामालिका, जलजला, गुर्जाघाट, रुघाचौर, गुर्जा, धौलागिरि आधार शिविर जोड्ने पदमार्गको अवधारणा अघि सारिएको छ ।
कसरी पुग्ने ?
धौलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ । ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा ३० मिनेट यात्रा गर्नुपर्छ । दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्छ ।
