धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर
टुरिजमफेस
बागमती । काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका-४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई यहाँको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थलका रुपमा अघि बढाइएको छ ।
पशुपतिनाथ मन्दिरकै स्वरुपमा निर्माण गरिएको १० कठ्ठा सात धुर क्षेत्रफलको मन्दिर परिसरमा नवग्रहदेखि हनुमान, सरस्वतीलगायतका देवीदेवताका मूर्तिहरूसँगै अतिथि गृहसमेत छ ।
विसं २०४२ मा निर्माण गरिएको उक्त मन्दिरमा पशुपतिनाथको जस्तै पूजाविधि तथा परम्परा रहेको मन्दिरका पूजारी पवन घिमिरेले जानकारी दिए । उनका अनुसार मन्दिरमा दर्शनार्थीलाई पशुपतिमा जस्तै भित्र मूर्तिसम्म नपुगी मूल प्रवेशद्वार बाहिरबाट नै पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ ।
मन्दिरमा सामान्य हरेक दिन नै भक्तजन आउने गरेको बताउँदै उनले शिवरात्री लगायतका विशेष तिथि र पर्वमा भने एकै दिनमा २० हजारभन्दा बढी भक्तजन आउने गरेको जानकारी दिए ।
भक्तजनको सुरक्षालाई दृष्टिगत गर्दै मूल मन्दिरको बरण्डामा दीप तथा धुप प्रज्वलन गर्ने विगतको व्यवस्थालाई परिवर्तन गरी मन्दिरको पश्चिम दक्षिण भागमा व्यवस्था मिलाइएको छ ।
विशेष पर्वका दिनमा भक्तजनको सुविधाका लागि मन्दिर प्रवेश गर्न पश्चिमद्वार र बहिर्गमनका लागि पूर्वीद्वार खुला राख्ने व्यवस्था मिलाइएको छ । अन्य दिनका हकमा भने पूर्वीद्वार आवश्यकताअनुसार मात्र खोल्ने गरिएको छ ।
मन्दिर विशेष पर्वका दिनमा आवश्यकताअनुसार खुल्ने भए पनि मङ्सिर, पुस र माघ महिनामा बिहान ५.०० बजे देखि १० बजेसम्म खुल्ने तथा बेलुका ४.०० बजेदेखि ६.०० बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ ।
यी तीन महिनाबाहेक अन्य महिनामा बिहान ४ः०० बजेदेखि १० बजेसम्म र बेलुका ५ः३० बजेदेखि ७ः०० बजेसम्म खुल्ने व्यवस्था मिलाइएको छ ।
भक्तजनबाट सङ्कलित भेटी र मन्दिर परिसरमा रहेका सटरको भाडा नै यहाँको दीगो सञ्चालनको प्रमुख स्रोत भएका कारण परिसरको उपयोगसँगै विशेष पूजाआजाका लागि सेवा शुल्क निर्धारण गरिएको छ ।
समितिले मन्दिर परिसरको संरचना एवं पूर्वाधार उपयोगअन्तर्गत खुला चौर (पूर्व र दक्षिण) ५००, भजन कृतन हल रु एक हजार, यज्ञ मण्डप रु एक हजार ५००, अन्य सानो काठो ५००, विशेष पूजा एवं लघु रुद्री गर्न चाहेमा दुई हजार १११, लाखबत्ती बाल्न, पास्नी तथा स्वयम्वरका लागि रु एक हजार १११ जस्ता शुल्क निर्धारण गरिएको छ ।
मन्दिर परिसरलाई व्यवस्थित बनाउन भूवनेश्वर सेवा समितिले २०६८ सालयता विभिन्न ११ बुँदे नागरिक बडापत्र टाँसेको छ ।
भौतिक पूर्वाधार विकासका माध्यमबाट टाढाटाढाबाट आउने दर्शनीलाई सहयोग पु¥याउने लक्ष्यका साथ आवासको व्यवस्था गरिएको समितिका अध्यक्ष जगन्नाथ पाण्डेले बताए । बस्न चाहने दर्शनार्थीका लागि बेडको सरसफाइ प्रयोजनका लागि प्रति व्यक्ति रु २०० लिने गरिएको उनले जानकारी दिए ।
उक्त भवन निर्माणका लागि रु २० लाख र भित्रका बेड विस्तारा व्यवस्थापनका लागि रु १० लाखसमेत रु ३० लाख वागमती प्रदेश सरकारबाट सहयोग प्राप्त भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
मन्दिर परिसरमा नै प्रत्येक सोमबार, शुक्रबार, शनिबारका साथै एकादशीमा विशेष भजन कीर्तन गर्ने गरिएको छ । भजनकीर्तन गर्ने परिसरमा ठूलै सङ्ख्यामा दर्शनार्थी जम्मा हुने भएकाले उक्त स्थानमा केही कुर्ची थप आवश्यक भएको सल्लाहकार हरि रिजालले जानकारी दिए ।
विसं २०७४ मा मन्दिर परिसरमा स्थापना गरिएको पशुपति सदन तत्कालीन समयमा स्थानीयवासील निर्माण गरिएको स्थानीयवासी बताउँछन् ।
यस भवनका कतिपय कोठा व्यक्तिगत रुपमा साथै नगरपालिका आदिबाट सहयोग मिलेको अध्यक्ष पाण्डेले बताए । “पूर्वाधार विकासले भुवनेश्वर महादेव (पशुपति) मन्दिर यस क्षेत्रकै महत्वपूर्ण धार्मिक गन्तव्यका रुपमा विकास भएको छ”, उनले भने, “विगतमा दुव्र्यसनीको अखडा जस्तै बनेको यो स्थल हाल एउटा महत्वपूर्ण धामका रुपमा विकास भएको छ ।”
मन्दिर परिसरमा इन्टरनेट लगायतको सहज सुविधाका लागि नेपाल टेलिकमले फ्रि वाइफाइको व्यवस्थापन गर्दैछ । बढ्दो बजारीकरणसँगै हेटौँडामा बाक्लिदै गरेका घरको बीचमा रहेको पशुपति मन्दिर धार्मिक आस्था विश्वास मात्र नभएर आध्यात्मिक जागरको केन्द्रसमेत बनिरहेको उनको भनाइ छ ।
मन्दिरमा प्रत्येक दिन बिहान ४ः३० बजेदेखि ६ः०० बजेसम्म पतञ्जली योग र जीवन विज्ञानका कक्षा सञ्चालन भइसकेका छन् ।
