पाँच दशकदेखि रोकिएको पोखरा बसपार्क निर्माणले फेरि समात्यो गति
पोखरा । लामो समयदेखि विवाद, अतिक्रमण र कानुनी जटिलताबीच अल्झिएको पोखरा बसपार्क निर्माण योजनाले पुनः गति लिने संकेत देखिएको छ। बसपार्क क्षेत्रभित्र रहेका व्यवसायिक संरचना तथा सटरहरू खाली हुन थालेसँगै करिब पाँच दशकदेखि अधुरो रहेको परियोजना कार्यान्वयनको चरणमा पुग्ने आशा बढेको छ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रका व्यवसायीहरूले आफ्ना पसल तथा संरचना हटाउन थालेका छन्। महानगरपालिकाले गत वैशाखमा सार्वजनिक जग्गामा बनेका संरचना हटाउन सूचना जारी गरेपछि सुरुमा त्यसलाई सामान्य रूपमा लिइएको भए पनि पछिल्लो समय जग्गाधनी र महानगरबीच सहमति जुटेपछि संरचना हटाउने प्रक्रिया तीव्र बनेको हो।
बसपार्कको उत्तरी भागमा रहेका जग्गाधनीले दायर गरेको मुद्दा सहमतिमार्फत समाधान भएपछि निर्माण प्रक्रियामा देखिएको प्रमुख कानुनी अवरोध हटेको छ। त्यसपछि व्यवसायी तथा घरधनीहरू स्वयंले संरचना खाली गर्न थालेका छन्।
हाल बसपार्क प्रवेशद्वार नजिक रहेको बास्तोला कम्प्लेक्सका सयौं सटर खाली गर्ने काम जारी छ। अन्य क्षेत्रमा रहेका संरचनाहरू पनि क्रमशः हटाइँदै छन्।
विसं २०३२ मा २०५ रोपनी जग्गा अधिग्रहण गरेर बसपार्क निर्माणको योजना सुरु गरिए पनि विभिन्न कारणले परियोजना अघि बढ्न सकेको थिएन। समयक्रममा बसपार्कका लागि छुट्याइएको ठूलो हिस्सा अतिक्रमणमा परेको छ भने अहिले करिब २५ रोपनी जमिन मात्र मूल स्वरूपमा बाँकी रहेको बताइन्छ।
महानगरपालिकाले बसपार्क निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन भइसकेको जनाएको छ। यद्यपि भूमिहीन तथा सुकुम्बासी परिवारको पुनःस्थापना अझै चुनौतीका रूपमा रहेको छ। बसपार्क क्षेत्रमा बसोबास गरिरहेका करिब ५०० परिवारलाई वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको महानगरको भनाइ छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वास्तविक भूमिहीन परिवारको पहिचान र पुनःस्थापनाको प्रक्रिया सँगसँगै अगाडि बढिरहेको जानकारी दिँदै अतिक्रमित संरचना हटाएर आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण गरिने बताए।
वर्षौंदेखि चर्चा मात्र बनेको पोखरा बसपार्क अब व्यवहारमै निर्माण हुने अपेक्षाले स्थानीयवासीमा नयाँ उत्साह थपिएको छ।
