राजसंस्था पुनर्स्थापनाका लागि धवल–दुर्गाको सहकार्य
काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको स्थापना नभएसम्म देशमा स्थायित्व, शान्ति र समृद्धि सम्भव नरहेको बताएका छन्।
राजधानीमा आयोजित प्रस्तावित राष्ट्रवादी राजनीतिक दल निर्माणसम्बन्धी जिम्मेवारी हस्तान्तरण तथा परिचय कार्यक्रममा बोल्दै प्रसाईंले राजसंस्था पुनर्स्थापनाको साझा लक्ष्यसहित आफू र धवलशमशेर राणा एकजुट भएको जानकारी दिए। उनले यही उद्देश्यलाई केन्द्रमा राखेर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने तयारी भइरहेको बताए।
प्रसाईंका अनुसार नेपालको मौलिक पहिचान, सनातन हिन्दु सभ्यता तथा राजसंस्थाको पुनर्स्थापनाका लागि सहकार्य सुरु गरिएको हो। उनले किराँत, बौद्ध र वैदिक परम्पराको संरक्षणसहित हिन्दु अधिराज्य स्थापनालाई आफ्नो अभियानको मुख्य एजेन्डा बताए।
“हाम्रो बीचमा मिल्ने वा बिग्रने प्रश्न नै उठ्दैन, किनकि हाम्रो लक्ष्य एउटै छ,” उनले भने, “नेपालको भूगोल, संस्कृति र परम्पराको रक्षा गर्दै राजसंस्था पुनर्स्थापित गर्नुपर्छ भन्ने साझा विश्वासले हामीलाई जोडेको हो।”
प्रसाईंले राजसंस्था पुनर्स्थापित भई राजा पुनः गद्दीमा विराजमान हुने दिन आफू र धवलशमशेर राणा पहेँलो वस्त्र धारण गरेर खप्तड जाने संकल्पसमेत व्यक्त गरे। उनले खप्तडलाई आध्यात्मिक साधना र तपस्याको भूमि भन्दै त्यसप्रति विशेष श्रद्धा रहेको उल्लेख गरे।
उनको भनाइमा साझा उद्देश्यका आधारमा अघि बढेको सहकार्य भएकाले भविष्यमा विभाजन वा मतभेदको सम्भावना न्यून रहेको छ।
