बाँके, बर्दिया, दाङ, कपिलवस्तु, कैलाली र कञ्चनपुरमा धान उत्पादन विस्तारका लागि कोरियाको १ अर्ब ८१ करोड रुपैयाँ सहयोग
काठमाडौं । नेपालको खाद्य सुरक्षा सुदृढ गर्दै तराई क्षेत्रमा धान उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यसहित दक्षिण कोरियाले करिब १ अर्ब ८१ करोड रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ।
दक्षिण कोरियाको सरकारी विकास सहयोग निकाय कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत १ करोड २० लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराइनेछ। यो सहयोग नेपालमा कृषि क्षेत्रका लागि सञ्चालन हुन लागेको हालसम्मकै ठूलो कोइका परियोजनामध्ये एक मानिएको छ।
यस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कोइकाबीच सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा कोइका नेपालका राष्ट्रिय निर्देशक मुहेन कोङ र मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले हस्ताक्षर गरेका छन्।
‘नेपालको तराई क्षेत्रमा जलवायु–अनुकूल धान उत्पादन तथा उत्पादकत्व अभिवृद्धि’ शीर्षकको यो कार्यक्रम सन् २०२६ देखि २०३१ सम्म छ वर्ष सञ्चालन हुनेछ। परियोजना लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर गरी ६ जिल्लामा कार्यान्वयन गरिनेछ।
परियोजनाले बदलिँदो जलवायुको असर सामना गर्न सक्ने उन्नत धानका जात किसानसम्म पुर्याउने, गुणस्तरीय बीउ उत्पादन तथा वितरण प्रणालीलाई सुदृढ बनाउने, कटानीपछिको क्षति न्यूनीकरण गर्न आधुनिक प्रविधिको प्रयोग बढाउने तथा उत्पादित धानको बजार पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।
कृषि मन्त्रालय, सम्बन्धित प्रदेश सरकार, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) तथा अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थानको सहकार्यमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ। यसमार्फत किसानको उत्पादन क्षमता वृद्धि, आम्दानी विस्तार र खाद्यान्न आत्मनिर्भरता प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
कोइकाले हाल बर्दियामा एकीकृत ग्रामीण विकास कार्यक्रम तथा लुम्बिनी प्रदेशमा फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना पनि सञ्चालन गरिरहेको छ। नयाँ धान परियोजनासहित यी कार्यक्रमबीच समन्वय गरी कृषि क्षेत्रको समग्र विकासमा प्रभावकारी परिणाम हासिल गर्ने योजना रहेको कोइकाले जनाएको छ।
सन् १९९१ देखि नेपालसँग विकास साझेदारी गर्दै आएको दक्षिण कोरियाले स्वास्थ्य, शिक्षा, कृषि, ग्रामीण विकास, सूचना प्रविधि, सीप विकास र पर्यटनलगायत क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ। कोइकाले हालसम्म नेपालमा करिब २३५ मिलियन अमेरिकी डलर बराबरको विकास सहायता परिचालन गरिसकेको छ।
