भेनेजुएलामा शक्तिशाली भूकम्पको दोहोरो धक्का, विमानस्थलदेखि विद्यालयसम्म बन्द
काठमाडौं । भेनेजुएलामा बुधबार साँझ एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले देशभर त्रास फैलाएको छ। ७.२ र ७.५ म्याग्निच्युडका ती भूकम्पपछि राजधानी काराकाससहित विभिन्न सहरमा भवनहरू हल्लिएका, संरचनामा क्षति पुगेको र हजारौँ सर्वसाधारण खुला स्थानतर्फ भाग्न बाध्य भएका छन्।
भूकम्पको तीव्र धक्कापछि सरकारले तत्काल आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार, राहत र क्षति मूल्याङ्कनको काम तीव्र बनाएको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै देशका धेरै राज्य प्रभावित भएको बताएकी छन्। उनका अनुसार क्षतिको प्रारम्भिक विवरण आउन थाले पनि घाइते र मृतकको आधिकारिक संख्या भने अझै सार्वजनिक गरिएको छैन।
भूकम्पले देशको मुख्य हवाई प्रवेशद्वार सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थलमा समेत असर पारेको छ। संरचनात्मक क्षतिको जोखिमलाई ध्यानमा राख्दै विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विमानस्थल क्षेत्रमा धुलो उडेको, मानिसहरू आत्तिँदै बाहिर भागेको र सुरक्षा निकाय सक्रिय देखिएका छन्।
सरकारले विद्यालयका कक्षा पनि केही दिनका लागि स्थगित गरेको छ। शिक्षा मन्त्रालयले केही विद्यालय भवनलाई अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्रका रूपमा प्रयोग गरिने जनाएको छ। त्यस्तै, अस्पतालहरूमा घाइतेको उपचार सहज बनाउन स्वास्थ्यकर्मीलाई तत्काल सेवामा उपस्थित हुन निर्देशन दिइएको छ।
तटीय फाल्कन राज्यका गभर्नर भिक्टर क्लार्कका अनुसार कम्तीमा ३२ जना अस्पताल भर्ना भएका छन्। भूकम्प गएको चार घण्टापछि पनि १५ जना भग्नावशेषमा फसेको आशंका गरिएको थियो। विभिन्न क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ भने सम्भावित परकम्पको जोखिमका कारण मानिसहरूलाई खुला स्थानमै बस्न सुझाव दिइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्पको केन्द्र राजधानी काराकासबाट करिब १६८ किलोमिटर पश्चिम, क्यारिबियन तटीय क्षेत्रको मोरोन नजिक रहेको थियो। यसको गहिराइ २२ किलोमिटर मापन गरिएको छ। त्यसको एक मिनेट नबित्दै ७.५ म्याग्निच्युडको दोस्रो भूकम्प गएको थियो, जसको केन्द्र मोरोनबाट १६ किलोमिटर दक्षिणपश्चिम र १० किलोमिटर गहिराइमा रहेको बताइएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार भूकम्पको धक्का यति शक्तिशाली थियो कि मानिसहरू घर, कार्यालय, पसल र व्यावसायिक भवनबाट हतारहतार बाहिर निस्किएका थिए। कतिपय स्थानमा पर्खाल भत्किएका, सडकमा सामान छरिएका, बिजुलीका खम्बा ढलेका र धुलोको मुस्लो उडेको देखिएको थियो। राजधानीका केही क्षेत्रमा विद्युत् सेवा र मोबाइल नेटवर्क समेत अवरुद्ध भएको जनाइएको छ।
काराकासका स्थानीय हेक्टर रिक्कीले सुरुमा हल्का कम्पन महसुस भए पनि केही सेकेन्डमै स्थिति निकै भयावह बनेको बताएका छन्। अर्का स्थानीय रोबर्टो गामासका अनुसार भवनहरू एक छेउबाट अर्को छेउसम्म हिंस्रक रूपमा हल्लिएका थिए र घरभित्रका सामानहरू खसेपछि मानिसहरूलाई सुरक्षित बाहिर निस्कन कठिन भएको थियो।
सरकारले राजधानीको मेट्रो सेवा र प्राकृतिक ग्यास आपूर्ति पनि अस्थायी रूपमा बन्द गरेको छ। नागरिकहरूलाई मोबाइल एपमार्फत आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण सरकारलाई पठाउन अनुरोध गरिएको छ। यद्यपि मोबाइल सञ्जालमा समस्या देखिएपछि देशबाहिर रहेका भेनेजुएलीहरू आफ्ना परिवारसँग सम्पर्कविहीन हुँदा चिन्ता बढेको छ।
भूकम्पको असर भेनेजुएलाभित्र मात्र सीमित रहेन। ब्राजिलको अमेजन क्षेत्रका केही सहरमा भवन खाली गराइएको छ भने कोलम्बियाका क्यारिबियन र उत्तरपूर्वी भागमा पनि कम्पन महसुस गरिएको जनाइएको छ। यद्यपि ती देशहरूमा हालसम्म ठूलो क्षति वा मानवीय हानिको विवरण सार्वजनिक भएको छैन।
प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक रूपमा सुनामीसम्बन्धी सतर्कता जारी गरे पनि केही समयपछि त्यो चेतावनी फिर्ता लिइएको जनाएको छ। वैज्ञानिकहरूका अनुसार भेनेजुएलामा यति शक्तिशाली भूकम्प विरलै आउने भए पनि देश दक्षिण अमेरिकी र क्यारिबियन टेक्टोनिक प्लेटको सीमाक्षेत्र नजिक भएकाले यस्ता भूगर्भीय गतिविधिको जोखिम रहिरहन्छ।
भूकम्पपछि अमेरिका, चिली, एल साल्भाडोर र इक्वेडरलगायत देशहरूले मानवीय सहयोगका लागि तत्पर रहेको सन्देश दिएका छन्। अन्तर्राष्ट्रिय समुदायले भेनेजुएली जनताप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोगको प्रतिबद्धता जनाउन थालेका छन्। एजेन्सीको सहयोगमा
