पूर्वी सीमाबाट पर्यटनको नयाँ सुरुआत, काँकडभिट्टामा स्वागतस्थल निर्माण
झापा । नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई पहिलो क्षणदेखि नै आकर्षक अनुभव दिलाउने उद्देश्यका साथ पूर्वी सीमा नाका काँकडभिट्टामा नयाँ पर्यटकीय स्वागतस्थल निर्माण सुरु गरिएको छ। भारत तथा तेस्रो मुलुकबाट स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकलाई लक्षित गर्दै सुरु गरिएको यो पहलले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
पर्यटन कार्यालय काँकडभिट्टा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको संयुक्त सहकार्यमा अघि बढाइएको परियोजनाले सीमा क्षेत्रलाई केवल प्रवेशद्वार नभई पर्यटकका लागि स्मरणीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
पर्यटन कार्यालयका अनुसार निर्माणको प्रारम्भिक चरणका लागि मेचीनगर नगरपालिकाले दुई लाख रुपैयाँ सहयोग गरेको छ भने आवश्यक थप बजेट पर्यटन कार्यालयले व्यवस्थापन गरेको छ। चालु आर्थिक वर्षभित्रै सम्पूर्ण संरचना निर्माण सम्पन्न गर्ने तयारी छ।
करिब २०० मिटर क्षेत्रफलमा फैलिएको स्वागतस्थलमा नेपालको राष्ट्रिय पहिचान र सांस्कृतिक विविधता झल्किने विभिन्न आकर्षण समावेश गरिनेछ। यहाँ ३२ वटा राष्ट्रिय झण्डा, पर्यटकलाई लक्षित सेल्फी जोन तथा रातको समयमा दृश्यलाई थप आकर्षक बनाउने डिजिटल प्रकाश व्यवस्थाको योजना रहेको छ। निर्माणका लागि हाल रहेका केही विज्ञापन बोर्ड हटाउने कामसमेत भइरहेको छ।
पर्यटन कार्यालयका प्रमुख छविलाल खतिवडाका अनुसार यस्तो संरचनाले नेपाल प्रवेश गर्ने पर्यटकमा सकारात्मक पहिलो छाप सिर्जना गर्नेछ। सीमा क्षेत्रमा केही समय पर्यटक रोकिने, तस्बिर खिच्ने तथा स्थानीय सेवा र व्यवसायको उपयोग गर्ने वातावरण बनेपछि स्थानीय अर्थतन्त्रलाई पनि प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।
निर्माण अभियानमा स्थानीय पर्यटन व्यवसायी तथा समुदायको समेत सक्रिय सहभागिता रहेको छ। परियोजनाका अगुवा रामबहादुर तामाङका अनुसार स्थानीय आर्थिक सहयोग र श्रमदानका कारण यस योजनाप्रति समुदायको अपनत्व बढेको छ, जसले यसको दीर्घकालीन संरक्षण र दिगोपनामा सहयोग पुग्नेछ।
पर्यटन कार्यालयले झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई समेटेर सीमा पर्यटन, पर्यावरणीय पर्यटन, फोटो प्रदर्शनी, होमस्टे प्रवर्द्धन तथा होटल र ट्राभल व्यवसायीको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएको छ।
हरेक वर्ष पूर्वी नाका हुँदै हजारौँ विदेशी पर्यटक नेपाल प्रवेश गर्ने भएकाले काँकडभिट्टामा निर्माण भइरहेको नयाँ स्वागतस्थलले नेपालको पर्यटन छविलाई थप सशक्त बनाउनुका साथै पूर्वी नेपालका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाइ र आवागमन बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
