त्रिभुवन विमानस्थलमा पूर्वकर्मचारीका ४ हजारभन्दा बढी सक्रिय प्रवेश पास खारेज गरिँदै
Tourism Face Banner News, NEWS 0
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका चार हजारभन्दा बढी प्रवेश पास कर्मचारीले सेवा छाडेपछि पनि प्रणालीमा सक्रिय रहेको तथ्य सार्वजनिक भएपछि ती पास निष्क्रिय बनाउने प्रक्रिया तीव्र पारिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा गरिएको अध्ययनपछि हाल कार्यरत नरहेका कर्मचारीसँग सम्बन्धित ४,०७२ वटा प्रवेश पास प्रणालीमा सक्रिय रहेको पुष्टि गरेको हो।
प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलका अनुसार तीमध्ये हालसम्म ५०७ वटा पास फिर्ता संकलन गरी नष्ट गर्ने र प्रणालीबाट हटाउने काम सुरु भइसकेको छ। सरुवा भएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र पठाइएको, केही पास स्वेच्छाले फिर्ता गरिएको तथा बाँकीका लागि सम्बन्धित व्यक्तिलाई सम्पर्क गरिएको उनले बताए।
प्राधिकरणका तथ्याङ्कअनुसार सन् २०२४ जनवरीदेखि हालसम्म विमानस्थलका लागि १२ हजार ४०२ वटा फोटोसहितका स्थायी तथा १ हजार ४१३ वटा फोटोरहित अस्थायी गरी कुल १३ हजार ८१५ प्रवेश पास जारी भएका छन्।
तीमध्ये फोटोसहितका ७ हजार ६७७ र फोटोरहित १ हजार ३२८ पास अझै सक्रिय छन् भने क्रमशः ४ हजार ७२५ र ८५ वटा पास निष्क्रिय भइसकेका छन्।
प्राधिकरणले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निषेधित क्षेत्र प्रवेश अनुमति पत्र व्यवस्थापन कार्यविधि, २०८० (तेस्रो संशोधन)’ अनुसार कर्मचारी सरुवा, अवकाश, राजीनामा वा अन्य कारणले जिम्मेवारी समाप्त भएमा तीन दिनभित्र प्रवेश पास अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ।
हाल विमानस्थल क्षेत्रमा सरकारी, गैरसरकारी र निजी क्षेत्रका २०१ संस्था आबद्ध छन्। विभिन्न संस्थाले आफ्नै प्रणालीअनुसार स्थायी, अस्थायी तथा आउटसोर्सिङ कर्मचारी परिचालन गर्ने भएकाले कर्मचारीको अद्यावधिक वर्गीकृत विवरण तत्काल उपलब्ध गराउन चुनौती रहेको प्राधिकरणको भनाइ छ।
महानिर्देशक डङ्गोलका अनुसार प्रवेश पास सामान्यतया दुई वर्षका लागि जारी गरिन्छ। विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा सुरक्षा जोखिम न्यून गर्न तथा प्रवेश प्रणालीलाई व्यवस्थित बनाउन पुराना र प्रयोगविहीन पास निष्क्रिय बनाउने अभियानलाई तीव्रता दिइएको छ।
