नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक : ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य, ब्याजदर यथावत्
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै ७ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग गर्ने तथा मुद्रास्फीति ५.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको छ। नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले हालको लचिलो मौद्रिक कार्यदिशालाई निरन्तरता दिइने जनाएको छ।
राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति सुदृढ रहेको, विप्रेषण आप्रवाह र पर्यटन आय सकारात्मक रहेको तथा समग्र आर्थिक वातावरण अनुकूल बन्दै गएको अवस्थालाई ध्यानमा राख्दै निजी क्षेत्रको मनोबल उच्च राख्ने गरी नीति तय गरिएको हो।
मौद्रिक नीतिले आर्थिक वर्षभर मुद्रास्फीति करिब ५.५ प्रतिशतमा सीमित राख्ने र कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य राखेको छ। साथै, भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दरको व्यवस्थालाई यथावत् राखिने उल्लेख गरिएको छ।
नीतिअनुसार ब्याजदर करिडोरअन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर तथा बैंक दरमा कुनै परिवर्तन गरिएको छैन। अनिवार्य नगद अनुपात (CRR), वैधानिक तरलता अनुपात (SLR) लगायत विद्यमान व्यवस्थालाई पनि निरन्तरता दिइएको छ।
बैंकिङ क्षेत्रलाई थप सुदृढ बनाउन राष्ट्र बैंकले वित्तीय क्षेत्र सुधार, डिजिटल बैंकिङ विस्तार तथा ग्राहकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने नीतिलाई प्राथमिकता दिएको छ। बैंक तथा वित्तीय संस्थाको वर्गीकरणसम्बन्धी अध्ययन सम्पन्न गरी नियामकीय व्यवस्था क्रमशः लागू गरिने पनि जनाइएको छ।
यसैगरी, व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्व घटाउने, चेक अनादरका कारण बैंकिङ पहुँचमा पर्ने अवरोध कम गर्ने, समस्याग्रस्त ऋण व्यवस्थापनलाई सहज बनाउने तथा सार्वजनिक प्रयोगका ठूला विद्युतीय सवारीसाधनमा ऋण–मूल्य अनुपात (Loan-to-Value Ratio) सहज बनाउने व्यवस्था गरिने नीति लिइएको छ।
राष्ट्र बैंकले व्यक्तिगत क्रेडिट स्कोरिङमा आधारित ‘पियर टु पियर’ (P2P) लेनदेन सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने जनाएको छ। साथै, आवश्यक परेमा मात्र मौद्रिक नीतिको कार्यदिशा पुनरावलोकन गरिने र बजारमा नीतिगत स्थिरता कायम राख्न समष्टिगत विवेकशील नियमनका उपायहरू निरन्तरता दिइने उल्लेख गरिएको छ।
