जलविद्युत् आयोजनाबाट निस्किएको ‘मकिङ’ व्यवस्थापनमा लापरवाही, म्याग्दीमा पहिरो र कटान बढेको स्थानीयको गुनासो
म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७ स्यानखण्ड क्षेत्रमा अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको निर्माणका क्रममा निस्किएको माटो तथा सुरुङबाट निकालिएको ‘मकिङ’ (गेगर) को अव्यवस्थित व्यवस्थापनका कारण म्याग्दी नदीमा कटान र पहिरोको जोखिम बढेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।
५३.५ मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत्गृह निर्माणस्थलबाट निकालिएको माटो नदी किनारमा जथाभावी थुपारिँदा नदीले धार परिवर्तन गरेको र त्यसको प्रत्यक्ष असर स्यानखण्डस्थित खेतीयोग्य जमिन, केरा बगैँचा तथा निजी वनमा परेको स्थानीयको भनाइ छ।
जग्गाधनी गजबहादुर थापाका अनुसार आयोजनाले पूर्वस्वीकृति तथा सहमतिबिनै नदी किनारमा माटो र मकिङ फाल्दा करिब १८ रोपनी जमिन पहिरो र कटानको चपेटामा परेको छ। उनका अनुसार एक वर्षदेखि पटक–पटक सचेत गराउँदा पनि आयोजनाले बेवास्ता गरेकाले वर्षायाम सुरु भएसँगै समस्या झन् गम्भीर बनेको हो।
यस क्षेत्रमा जगबहादुर र यामबहादुर थापाको केरा बगैँचा तथा उत्तिसको निजी वन नदी कटानका कारण बगिसकेको स्थानीयले बताएका छन्।
स्थानीय थमन जुग्जालीले वातावरणीय अध्ययन प्रतिवेदन (ईआईए) मा उल्लेख गरिएका माटो तथा मकिङ सुरक्षित व्यवस्थापनका मापदण्ड कार्यान्वयन नभएको आरोप लगाए। उनका अनुसार बारुद मिसिएको मकिङ नदीमा मिसिँदा माछासहित जलचरको बासस्थानसमेत प्रभावित भएको छ।
त्यस्तै, दलबहादुर जुग्जालीले सुरुङ र पहुँचमार्गबाट बग्ने लेदोयुक्त पानी खेतबारीमा पस्दा खेतीबालीमा समेत क्षति पुगेको बताए। स्थानीयले वातावरणीय तथा सामाजिक असर न्यूनीकरण, धुलो–हिलो नियन्त्रण र सडक मर्मतका विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी सुनुवाइ नभएको गुनासो गरेका छन्।
यता आयोजनाका प्रमुख ज्योतिकुमार केसीले निर्माण गतिविधिका कारण केही असर परेको स्वीकार गर्दै सबै क्षतिको जिम्मेवारी आयोजनामाथि मात्रै नरहेको बताए। उनका अनुसार जोखिमयुक्त स्थानमा संरक्षणका काम तथा प्रभावित जग्गाधनीलाई क्षतिपूर्ति दिने विषयमा विभिन्न विकल्पमा छलफल भइरहेको छ।
प्रवर्द्धक कम्पनी अपर म्याग्दी हाइड्रोपावरका वरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले निर्माण कम्पनीलाई वातावरणीय मापदण्ड पालना गर्न निर्देशन दिइएको र स्थानीय तहसँगको समन्वयमा सामाजिक उत्तरदायित्वअन्तर्गत ६ करोड २० लाख रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
उनले म्याग्दी नदीमा अन्य जलविद्युत् आयोजना पनि सञ्चालन तथा निर्माणाधीन रहेकाले बाढी र कटानको समस्या एउटै आयोजनाका कारण मात्र नभएको उल्लेख गर्दै सडक मर्मत, धुलो तथा हिलो व्यवस्थापनमा सबै आयोजनाबीच सहकार्य आवश्यक रहेको बताए।
अपर म्याग्दी–१ आयोजना २०८३ फागुनभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माण भइरहेको छ। धवलागिरि गाउँपालिका–४ खाम्लामा बाँध निर्माण, पानी थिग्र्याउने पोखरी तथा अन्य पूर्वाधार निर्माण तीव्र गतिमा अघि बढिरहेका छन्। करिब ११ अर्ब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट वार्षिक औसत ३१५.१ गिगावाट घण्टा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने अपेक्षा गरिएको छ।
